विदेशबाट आउने जो कोहीलाई क्वारेन्टाइनमा राख्न माग,कोरोनाको आशंका देखिएमा आफनै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने


काठमाडौं, २८ फागुन । विदेशबाट आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्न राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै संघले कोरोना भाइरस संक्रमित देशबाट आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्न माग गरेका हुन् ।
युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेसण भइरहेको सन्दर्भमा आधिकारी सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न माग गरेका छन् । विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै संक्रमण फैलिन नदिन सरकारसँग माग गरेका छन् ।
ध्यानाकार्षण पत्र बुझ्दै मन्त्रि ढकालले व्यक्तिमा कोरोना भाइरसको आशंका देखिएमा आफनै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् । उनले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी राख्ने नसकिने बताए ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्री ढकालले बताए । उनले ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने बताएका छन् । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था भएको बताएका छन् ।
उनले विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भएमात्रै नेपाल प्रवेश गर्न दिने बताउँदै १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउने बताएका छन् । मन्त्री ढकालले क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नभएर अब सेल्फ (आफै) क्वारेन्टाइनमा मान्छेहरु बस्नु पर्ने बताए । क्वारेन्टाइन बस्नेले दिनैपिच्छे ज्वरो आको छ छैन भन्ने नाप्ने , कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल सरकारले तयार गरेको मन्त्री ढकालले बताएका छन् ।सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई कडाई गरेको छ ।
यसैगरी, इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् । पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताएका छन् । उनले कोरोना सङ्क्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए। इरानमा अब सङ्क्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *