‘धुपौरे’को विवाद मिलाउन दुवै पक्षसँग चलचित्र निर्माता संघको छलफल


काठमाडौं, २७ फागुन । ‘धुपौरे’को विवाद मिलाउन दुवै पक्षसँग चलचित्र निर्माता संघले छलफल गरिरहेको छ । विवाद मिलाउन महानगरीय प्रहरी परिसर काठमाडौंले चलचित्र निर्माता संघलाई पत्रचार गरेका कारण अहिले निर्माता संघ फिल्मका निर्माता र अभिनेताबीच उत्पन्न विवाद मिलाउन दुवै पक्षसँग छलफल गरिरहेको हो ।
अनमोलले फेसबुकमा स्टाटस लेखेपछि निर्माता संघले छलफल र वार्ताबाटै समस्याको समाधान हुने अवस्थामा फिल्मका व्यक्तिहरुलाई आरोप–प्रत्यारोपमा नउत्रन आग्रह गरेको छ । फिल्म निर्माता र नायकबीच उत्पन्न विवादको बारेमा निर्माता संघ विज्ञप्तीमा जारी गर्दै संघको न्यायिक समितिमा विभिन्न चरणमा छलफल जारी रहेको जनाएको छ ।
‘धुपौरे’ फिल्मका अनुबन्धित नायक अनमोल केसी र निर्माण पक्षबीच उत्पन्न विवादका बारेमा नेपाल चलचित्र निर्माता संघको न्यायिक समितिमा विभिन्न चरणमा छलफल जारी रहेको र दुई पटक दुवै पक्षको उपस्थितिमा बैठक बसिसकेको अवस्थामा यसरी यस विषयलाई लिएर गरिएको सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानआकृष्ट भएको संघको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फिल्म ‘धुपौरे’ का निर्माता र अभिनेता अनमोलबीच उत्पन्न विवाद यतिबेला उत्कर्षमा पुगेको छ । निर्माता द्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले दुई हप्ताअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा अनमोलविरुद्ध ठगीको उजुरी दिएका थिए । ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि अनमोलले समय नदिएको भन्दै उनीहरुले उजुरी दिएका हुन् ।
फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै थप २ लाख ५० हजारसमेत लिएको पनि निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । फिल्मका निर्माताले पैसा ठगीको अरोप लगाउँदै प्रहरीमा उजुरी दिएको दुई हप्तापछि अभिनेता अनमोल केसीले आइतबार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *