आपूर्ति सहज भएकाले नआत्तिन आपूर्तिमन्त्रीको अनुरोध


काठमाडौं, २७ फागुन । आपूर्तिको अवस्था सहज भएकाले गर्दा कोहीपनि आत्तिनु नपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । सोमबार राजधानीमा आयोजित सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा मन्त्री भट्टले मुलुकको आपूर्ति व्यवस्था सहज रहेको बताउँदै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका हुन् ।
केहीगरी देशमा त्यस्तो समस्या आइहाले पनि सरकार पूर्णतः तयारी अवस्थामा रहेको मन्त्री भट्टले दाबी गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण अहिले बजारमा खाद्यवस्तु देखि लिएर सम्पूर्ण उपभोग्य वस्तु स्टोर गर्न उपाभोक्ताहरु आतुर देखिएका छन् । मन्त्री भट्टले खाद्य वस्तु स्टोर नगर्न विनम्र अनुरोध गरेका छन् ।
उनले कोरोनालाई लिएर बजार अभाव र आपूर्तिबारे कुनै शंका नगनए आग्रह गरेका छन् । आपूर्ति पहिले जस्तो थियो अहिले पनि उस्तै रहेको उनले बताए । मन्त्री भट्टले खाद्यान्नतर्फ समस्या नभएको बताउँदै आउँदो दशैंसम्म धान्ने खाद्यान्न भएको जनएका छन् ।
मन्त्री भट्टले मास्क, सेनिटाइज लगायत औषधिमा भने उत्पादन, माग र सप्लाईका कारण केही समस्या आएको स्विकारेका छन् । उनले यसको समाधानका लागि सरकारले स्वदेश मै उत्पादन गर्न आवश्यक गृहकार्य गरिरहेको बताए ।
मन्त्री भट्टले आफु भाषणमा भन्दा पनि एक्सनमा काम गर्ने हुँदा त्यस्तो समस्या आइहाले तत्काल समाधान गर्नेगरी अघि बढ्ने बताए । त्यस्तो अवस्था आइहाले सरकार मुलुकको जुनकुनै कुनामा पनि सेवा, सुविधा र आपूर्ति व्यवस्था सहज गर्न तयार रहेको उनले बताए । यस्तो समस्या मुलुकमा भित्रन नदिन अहिले सरकारले ७ वटै प्रदेश र स्थानीय सरकारहरुसँग मिलेर काम गरिरहेको बताए ।
मन्त्री भट्ट कोरोनाविरुद्ध संयमताका लागि सरकारले मुलुकको ३७ वटै नाका र प्रमुख विराटनगर, वीरगञ्ज, भैरहवा लगायतका ७ वटा भन्सार नाकाहरुमा कडाइ गरिएको जानकारी दिएका छन् । यता कोरोनाको संक्रमण वढ्ने अवस्था रहे आवश्यकता अनुसार सरकारी भवन र होटलहरुलाई समेत क्वारेन्टटाइनको रुपमा प्रयोग गर्ने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएका छन् ।
यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कोरोनाको सन्त्रास र बजार अभावको हल्लामा आमनेपाली संयमित र सचेत हुनुपर्ने बताएका छन् ।
उनले हल्लाको पछि मात्र नलागि बजार र आवश्यकताको महसुस गरी वस्तु तथा सेवाको आवश्यक परिमाणमा मात्र खरिद गर्न र प्रयोग गर्न सर्वसाधारणमा अपील गरेका छन् । यसतर्फ सूचना प्रवाहमा सञ्चार माध्यमहरुलाई महत्वपूर्ण भूमिका खेलिदिन पनि सचिव अर्यालले आग्रह गरेका छन् ।
अहिले बजारमा हल्ला चलाइएको जस्तो वस्तु तथा सेवा अभाव छैन । बरु कारोनाको सन्त्रासकाबीच उपभोक्ताहरुले आवश्यकता भन्दा बढी वस्तु खरिद गर्ने र स्टोर गर्ने प्रवृत्तिका कारण अहिले बजारमा समस्या आइरहेको सचिव अर्यालले बताए । उनले अहिले बजारमा उपभोक्ताहरुले आवश्यकता भन्दा बढि ४–५ वटा ग्यास सिलिण्डर समेत एकै व्यक्तिले खरिद गरेर राख्ने प्रवृत्तिले गर्दा ग्यास भर्ने सिलिण्डरमा समस्या आइरहेको बताए ।
सचिव अर्यालले आवश्यकता भन्दा बढी वस्तु तथा सेवा एकै व्यक्तिलाई नदिन व्यवसायीलाई सूचित गराएको जनाएका छन् ।
उनले असहज परिस्थितिमा व्यवसायीहरुले बदमासी गर्न सक्ने भन्दै सरकारले त्यसको निगरानीमा बजार अनुगमन र नियमनका लागि आफ्नो संयन्त्र परिचालन गरिसकेको बताए ।
यसै विषयलाई मध्यनजर गर्दै विभागले बजार अनुगमनमा विशेष ध्यान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । विभागको अनुगमनमा अहिलेसम्म १५ व्यवसायी कारबाहीमा परिसकेको बताउँदै त्यस्तो कोही कसैबाट बदमासी भएको फेला पारे कडा कारबाही गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *