शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएरकार्यकर्तालाई विचलित नहुन प्रचण्डको आग्रह


चितवन, २७ फागुन । शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित नहुन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् । नेकपा चितवनको सचिवालय बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर विचलित मनस्थिति बनाएको भए त्याग्न कार्यकर्तालाई अनुरोध गरेका हुन् ।
उनले माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहने बताउँदै आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हने बताए । अध्यक्ष प्रचण्डले शीर्ष नेतामा कुनै समस्या नभएको बताउँदै हामी मिलिहाल्छौं, कार्यकताहरुमा समस्या आयो भने मिलाउन कठिन हुने बताए ।
अध्यक्ष प्रचण्डले तल्लो तहको कार्यकर्तालाई पार्टी निर्माणमा लाग्र्न निर्देशन दिएका छन् । उनले स्थानीय नेताहरु पार्टीको खम्बा भएको बदाउँदै जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
उनले पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान स्थानीय नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।
यसैगरी, अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन हुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सदस्य बनाउन आलटाल गरिरहेका बेला प्रचण्डले भने सचिवालयको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने दावी गरेका हुन् । सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनको अनुरोध छ ।

प्रधानमन्त्री उपचारका लागि अस्पतालमा भएकाले त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ । हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका हौं । त्यो कार्यान्वयन हुनेछ । त्यसमा दुई मत नभएको अध्यक्ष प्रचण्डले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *