घरबासले बढायो आयआर्जन

–तारानाथ आचार्य
बलेवा, २१ फागुन (रासस) ः सदरमुकाम बागलुङ बजारबाट चार घण्टा सवारीको यात्रामा बरेङ गाउँपालिकाको केन्द्र सुदाला र त्यहाँबाट डेढ घण्टाको पैदल यात्रामा सुन्दर एवं पर्यटकीय गाउँ सिग्दी पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार ७०० देखि एक हजार ९०० मिटरको उचाइमामा अवस्थित मगर समुदायको बसोबास रहेको सिग्दी बागलुङको घरबास पर्यटनका लागि नाम कमाएको गाउँ हो ।
धान फल्ने खेत नरहेको सिग्दीमा तरकारी र अन्य बालीका लागि पनि सिँचाइको भने असुविधा छ । राम्रा र चिटिक्क परेका देखिने यहाँका पाटा बारीमा कोदो र मकै फल्छ । तर सिग्दीको खेती भने वर्षाको पानीको भरमा मात्र हुन्छ । मकै, कोदो, फापरबाहेक यहाँका बारीमा अन्नभन्दा सागसब्जी, फर्सी र दालका लागि अन्य गेडागुडी मात्र हुने गर्दछ ।
बाहिरबाट झट्ट हेर्दा दुःख देखिन्छ सिग्दीवासीलाई । जमिनलाई हेरेर अनुमान गर्दा गाउँलेलाई धानखेती या नगदेबालीबाट आर्थिकोपार्जनको खासै माध्याम देखिन्न । तर माटोमा देखिए जस्तो अन्न नफलेकै कारण अनिकाल भने छैन उनीहरुलाई । पछिल्लो समय सिग्दीका मगर समुदायले आफूहरुसँग उपलब्ध उत्पादनबाट नै आर्थिक उन्नतिको बाटो समाएका छन् । सिँचाइविनाको रुखो देखिने बारीका पाटामा फल्ने कोदो र मकैको परिकार अहिले उनीहरुको पाहुनाको स्वागत सत्कारको मुख्य अन्न बनेको छ । यहाँका सबै परिवार मिलेर घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको आयआर्जनको बाटो खुलेको हो । नौ महिनाअघि मात्र सञ्चालनमा आएको सिग्दी सामुदायिक घरबास विशेषतः कोदो, मकै र लोकल कुखुराको परिकारबाट जिल्लामा बढी चर्चित बन्न पुगेको छ ।
सिँचाइको अभावले उत्पादन कम हुने र घरखर्च चलाउनसमेत कठिन अवस्थाबाट गुज्रिरहेको यहाँका अधिकांश युवा भारतीय, नेपाली सेना तथा प्रहरीमा भर्ती हुने प्रचलन नै बसिसकेको छ । त्योबाहेक पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि उच्च छ । ‘चार÷छ कक्षा पढेका पनि जम्दार सुवेदार हुने भएकाले यहाँका युवा पढ्नभन्दा लाहुरे हुन रुचाउँछन्’ सिग्दी सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष हीराबहादुर पुनले भन्नुभयो, “हाम्रो घरखर्च चलाउने उपाय नै कि भर्ती हुने हो कि त विदेश नै जानुपर्छ ।”
युवापुस्ता गाउँ बाहिर रहेको भए पनि सबै गाउँले मिलेर घरबास चलाएको पुनले बताउनुभयो । घरबास सञ्चालकमा अधिकांश महिला छन् । “घरबास चलाएको धेरै भएको छैन तर, पनि पाहुना आइरहनुभएको छ”, घरबास सञ्चालक पुष्पा काउचाले भन्नुभयो, “पहिले नगद पैसा देख्नै गाह्रो थियो अहिले म आफैँ खर्च पु¥याउँछु ।” घरबास सञ्चालनमा आएपछि सिग्दीका मगर समुदायको आयआर्जनको स्रोत बढेको छ । स्थानीय र प्रदेश सरकारले दिएको अनुदानलाई भवन र पदमार्गमा खर्च गरेका यहाँका सर्वसाधारणले समूहमा पाहुनाको स्वागत र गाँसबासको व्यवस्था मिलाउने गरेका छन् । पाहुनाबाट आउने रकमलाई सबै मिलेर बाँडफाँट गर्छन् ।
सिग्दीका पाँच परिवार प्रत्यक्षरुपमा घरबास सञ्चालकमा छन् । अरु परिवारले पनि सहयोग गर्छन् । घरबास सञ्चालक रहेका सबै परिवारले लोकल कुखुरा पालेका छन् । घरबासमा बस्न आउने पाहुनालाई कुखुराको स्वाद चखाएर उनीहरुले अर्को आम्दानीको बाटो समाएका छन् । कुखरा मात्रै होइन उनीहरुलाई बाँझिदै गएको बारी कोतर्ने बाध्यात्मक अवस्थासमेत आउन थालेको छ । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बरेङमा पनि कैयौँ बारी बञ्जर बन्दै गएको छ । मागअनुसार कोदोको पिठो पु¥याउनुपर्ने अवस्था यहाँका गाउँलेमा छ । त्यसैले अब भने बाँझिएका बारीमा फेरि कोदोले बाला लाउनेछ ।
घरबासमा बस्न आउने पर्यटकले लोकल कुखुरा र कोदोको ढिँडो (हलुवा), कोदोको सेलरोटी, मकै भटमास रोज्ने गरेका छन् । पर्यटकको रोजाइमा परेका उत्पादनको मूल्य पनि आकर्षक हुन्छ । त्यहाँबाट भएको आम्दानीले नै घरबास सञ्चालकलाई गुजारा चलाउने राम्रो स्रोत भएको छ । “गरे हुँदोरहेछ, यो सिंचाईँ पनि नहुने रुखो पाखोमा केही छैन भनेर हुनेखानेहरु बसार्इँ सरेर गए, हामी सकेनाँैं”, अर्का घरबास सञ्चालक मिनबहादुर पुनले भन्नुभयो, “पहिले केही छैन भनेर हिँडेका अहिले यहीँ गाउँमा बस्न आउँदैछन् ।” सिग्दी सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको नौ महिना मात्रै भयो । घरबासको विषेशता सुनेका ३५० भन्दाबढी पर्यटक त्यहाँ पुगेको तथ्याङ्क गाउँलेसँग छ ।
“हाम्रो घरबासमा आउने सबैले कोदोको ढिँडो र लोकल कुखुराको परिकार भन्नुहुन्छ”, पुनले भन्नुभयो, “टाढाबाट स्थानीय स्वादका लागि यहाँ आउने धेरै छन् ।” गुल्मीको सिमानासँग जोडिएको बरेङमा बागलुङ, पर्वत, पोखरा र गुल्मीबाट पर्यटक आउँछन् । अझै धेरै त बुटवलबाट आउने गरेको उनीहरुको भनाइ छ । थोरैमात्र पक्की र अधिकांश कच्ची सडकको यात्रामा बरेङ पुग्ने सबैको रोजाइ स्थानीय खाना नै हुने गरेको गाउँलेले सुनाए । ठूलो बजार नरहेको बरेङमा गाउँपालिकामा घुम्न आउनेदेखि काम विशेषले आउनेहरुको आश्रयस्थल पनि बनेको छ घरबास ।
“हाम्रो प्राकृतिक सम्पदा कौडेको धुरी घुम्न आउनेलाई सहज होस् भनेर पदमार्ग बनाएका छौँ”, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयोे, “यस धुरीबाट प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । सिग्दी घरबासमा एकै पटकमा ३० जनासम्म पर्यटक बस्न सक्छन् । स्थानीय जङ्गलमा पाइने बाँकोको गुन्द्रुक यहाँको अर्को विषेशता हो ।”
यहाँ आउने पर्यटकमध्ये कतिले त कुखुरा र ढिँडो खाने र तरकारीका रुपमा गुन्द्रुक किनेर लाने गरेको जानकारी एक जना सञ्चालक पुष्पा काउचा बताउनुहुन्छ । उहाँका अनुसार यहाँका सिरम्ले मकैको पनि व्यापार बढेको छ । फूला नउठ्ने यी मकै सबै मौसममा उत्तिकै स्वादिलो हुने गर्दछ ।
घरबास सञ्चालनमा आएपछि आर्थिक गतिविधि बढेको र केहीले रोजगारी पाएको गाउँपालिका अध्यक्ष शर्मा बताउनुहुन्छ । कौडेधुरी नजिकै डाँडामा भ्यूटावर निर्माण गरिएको छ । सत्यावतीको मन्दिर, पौराणिक दरबारका अवशेष र यहाँको प्राकृतिक सम्पदा पर्यटक पुग्नैपर्ने ठाउँहरु हुन् ।
जिल्लामा दर्ता भएका २८ वटा सामुदायिक घरबास छन् । उनीहरुको आआफ्नै खानाका परिकार र आआफ्नै स्वागत सत्कारका तरिका छन् । जिल्लामा भएका घरबासमध्ये चलेको घरबासको परिचय बनाएको छ सिग्दीले । सिग्दीमा पाइने वातावरण र खानाका परिकार फरक छन् । बागलुङ नगरपालिकाको भकुण्डेमा रहेको घरबासमा कोदोको परिकार मुख्य मानिन्छ भने बरेङको घरबासले जङ्गलमा पाइने बाँकोको गुन्द्रकलाई प्रमुख परिकार भनेर दिने गरिन्छ । सिग्दीले छोटो समयमा कमाएको ख्यातिका कारण गाउँपालिका पनि बडो उत्साहित भएको छ । “हामीले यहाँ आवश्यक पूर्वाधारका लागि सक्ने सहयोग गरिरहेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो । उहाँले यस गाउँपालिकाले नसक्ने अवस्थामा प्रदेश र सङ्घसँग पनि पहल गरिरहेको बताउनुभयो ।
गत आर्थिक वर्षमा यो घरबासले गाउँपालिका र प्रदेश सरकारबाट ल्याएको अनुदान रकमले सार्वजनिक सभाहल र पैदलमार्ग बनाएको छ । गत वर्ष अनुदान र श्रमदान गरेर झण्डै १० लाख रुपैयाँमा निर्माण भएको सभाहल एक वर्ष नपुग्दै साँघुरो भएको छ । “पाहुना धेरै आउनुहुन्छ हाम्रो स्वागत गर्ने र सांकृतिक कार्यक्रम देखाउने समूहसमेत गर्दा ठूलै समूह हुन्छ”, अध्यक्ष हीराबहादुर भन्नुहुन्छ, “थप लगानी गरेर भवन फराकिलो बनाउने चुनौती थपिएको छ ।”
घरबासकै स्रोतले उनीहरुले सांस्कृतिक समूहको पोशाक तयार गरेका छन् । अझै सांस्कृतिक कार्यक्रमका लागि आवश्यक बाध्यबाधन र अरु सामग्री मागेकै भरमा चलाउनुपर्ने अवस्था छ । सामुदायिक भवनदेखि घरबाससँग जोडिएका घरसम्म पैदलमार्ग बनाइएको छ । प्रदेश सरकारको १० लाख अनुदानमा बनेको पदमार्र्ग पूरा भएको छैन । पदमार्ग त्यहाँका पर्यटकीय क्षेत्र जोड्ने योजनाका साथ शुरु भएको थियो । संरचना निर्माणमा तीनै तहका सरकारले सहयोग गरे घरबास सिग्दीको वरदान बन्ने पुनको भनाइ छ ।
मगर समुदायको आफ्नै संस्कृति र परम्परा छ । लोपोन्मुख सङ्गीत यहाँका मगर समुदायले जोगाएर राखेका छन् । ठाउँअनुसारको संस्कृतिमा आधारित गीत, सङ्गीत र नृत्य देखाउने, स्थानीय जातको खाना खुवाउने भएकोले बिदाको दिन कर्मचारी तथा आआफ्ना काम र व्यवसायले सदरमुकाममा रहेका पनि यहाँका घरबासमा पुग्ने गरेका छन् । आन्तरिक पर्यटक भित्र्याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने पालिकाको लक्ष्यमा घरबासले साथ दिएको छ । खाना पकाउने, सरसफाइ गर्ने र पाहुनाको स्वागतका विविध विधामा उनीहरुले तालीम लिएका छन् । बागलुङमा बागलुङ कालिका, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, गाजाको दह, ढोरपाटन सिकार आरक्ष, घुम्टेको लेक, गाईघाटको झरना, हाँडिकोटको धुरी, जैमिनीधाम, गल्कोट दरबार, बलेवा भैरवस्थान, कालीगण्डकी ¥याफ्टिङलगायतका क्षेत्र प्रचुर सम्भावना भएका पर्यटकीय क्षेत्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *