रारा गोल्डकप २२ फागुनदेखि सुरु


पोखरा, २१ फागुन । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको फागनु २२ देखि सुरु हुने भएको छ । आयोजक साहरा क्लबले मंगलबार पत्रकार सम्मेलनमा १८औं संस्करणको गोल्डकपको खेल तालिका सार्वजनिक गर्दै फागनु २२ गते बिहीबारदेखि खेल सुरु हुने जनाएको छ ।
सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक साहरा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुने भएको छ । खेल २२ गते बिहीबार पोखरा रंगशालामा हुनेछ । जित हात पार्ने टोलीले क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ । २३ गते शुक्रबार एपिएफ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टोलीले नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।
क्वाटरफाइनल खेल २४ गतेबाट शुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा पुलिसले साहरा र बीबीसीबीचको विजेता सँग खेल्नेछ । दोस्रो क्वाटरफाइनलमा मनाङले एपिएफ र झापा–११ को विजेतासँग खेल्नेछ । तेस्रो क्वाटर फाइनलमा रुस्लान थ्री स्टारले गन्तोक सिटी क्लब भारतको सामना गर्नेछ । अन्तिम क्वाटरफाइनलमा आर्मी र संकटाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल २८ र २९ गते हुनेछ । फाइनल चैत १ गते हुने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैया हात पार्नेछ । दोस्रो हुने टोलीले ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस वर्ष राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट ३५ हजार, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गर्ने बताएको छ ।
यस प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी, वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगायत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक म्याच ५ हजार रहेकोे छ ।
गतवर्ष थ्री स्टार च्याम्पियन बन्दा आर्मी उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *