थ्री स्टारलाई १–० ले पराजित गर्दै आयोजक खप्तड गोल्डकप च्याम्पियन


धनगढी, २१ फागुन । सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगितमा थ्री स्टार क्लबलाई १–० पराजित गर्दै आयोजक सुदूरपश्चि–११ स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आयोजक पहिलोपटक च्याम्पियन बनेको हो ।
आयोजकलाई च्याम्पियन बनाउन बिक्रम सिंह ठकुरीले गरेको गोल नै निर्णायक बनेको छ । थ्री स्टार लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्न पुगेको छ । खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि थ्री स्टार फिनिसिङमा चुक्दा उपविजेता चित्त बुझाउने परेको छ ।
त्यसअघि खेलको २२औं मिनेटमा विक्रमसिंह ठकुरीकोको प्रहारलाई थ्र्री स्टारका कप्तान विक्रम लामाले हेडमार्फत गोललाइनबाट क्लियर गरेका थिए । ४३औं मिनेटमा सुशिल राईको हेडरलाई सुदूरपश्चिमा गोलरक्षक सुजित विसीले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।
६१औं मिनेटमा अनन्त तामाङको प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक सुजित विसीले मुस्किलले बचाएका थिए । ८०औं मिनेटमा मिक्छेन तामाङको प्रहारलाई सब्सिच्युट गोलरक्षक प्रितम खड्काले पञ्च गर्दै सम्भावित बराबरी टारेका थिए ।
इन्ज्युरी समयमा विक्रम सिंह ठकुरीले काउन्टर एट्याकमा वान भर्सेस वानमा गोल गर्न चुकेका छन् । उनको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले ब्लक गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा थ्री स्टार पराजित हुन पुगेको छ ।
थ्री स्टार अघिल्लो साता झापमा आयोजना भएको सताक्षी गोल्डकपमा पनि सान मिगेल मछिन्द्र क्लबसँग १–० ले पराजित हुदै उपविजेता नै बनेको थियो ।
यससँगै सुदूरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयमा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *