एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग


काठमाडौं, २१ फागुन । एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल महिला संघले माग गरेको छ । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संघकी अध्यक्ष उमा रेग्मी नेतृत्वको टोलिले वडादेखि केन्द्रसम्म कम्तिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो ।
संघले पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा कम्तिमा एक तिहाइ महिलालाई दिनुपर्ने माग गरेको छ । पार्टीको विधानमा एक तिहाइ महिला प्रतिनिधित्व १४ औं महाधिवेशनदेखि सुनिश्चित हुने उल्लेख रहेको स्मरण गराउँदै संघले देउवालाई क्रियाशील सदस्यता वितरण गर्दा महिलालाई प्राथमिकता दिन माग गरेको छ ।
कांग्रेसमा अहिले चार लाख ७० हजार बढी क्रियाशील सदस्य छन् । १४ औं महाधिवेशनसम्म आठ लाख सदस्य बनाउने कांग्रेसको तयारी रहेको छ ।
तीन प्रतिशत महिलाले मात्रै क्रियाशील सदस्यता पाएका अध्यक्ष रेग्मीले बताएकी छिन् । उनले संगठन विस्तारमा दुःख गर्ने र कार्यक्रममा सक्रिय सहभागी हुने महिलाले क्रियाशील सदस्यता नपाएको बताएकी छिन् ।
सभापति देउवालाई संघले आधाभन्दा बढी जनसंख्या रहेको महिलालाई पार्टीको मुलधारबाट बाहिर पारेर कसरी संगठन बलियो हुन्छ भन्ने प्रश्न गरेको छ । गुटको असर महिलालाई परेको छ । लाखौं महिलाले क्रियाशील सदस्यता पाउनबाट बञ्चित भएको अध्यक्ष रेग्मीले बताइन् । उनले महिलालाई पार्टीको मुलधारबाट बाहिर पारेर पार्टीको संगठन बलियो नहुने दाबी गरेकी छिन् ।
न्युनतम एक तिहाइ महिलालाई क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्थाका लागि पहल गरिदिन सभापति देउवालाई संघले आग्रह गरेको छ । कांग्रेसले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन तोकेको छ । महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सुरू भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *