कोरोना भाइरसका काराण श्रम स्वीकृति, नो अब्जेसन लेटर र प्रभावित मुलुक सँगको हवाई उडान स्थगित


काठमाडौँ, २१ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका ६६ देशमा फैलेपिछ सरकारले श्रम स्वीकृति तत्कालकोलागि बन्द गरेको हो । कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने श्रम मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म करिब ३ हजारभन्द बढि मानिसको ज्यान गइसकेको छ । कोरोना भाइरस नियन्त्रण गर्नकालागि सरकारले सक्रियता बढाएको छ ।
सरकारले अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई नो अब्जेसन लेटर पनि बन्द गरेको छ । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको थियो ।
ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरोना सङ्क्रमित फेला परिसकेका छन् । कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क रहेको छ ।
यसअघि, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ ।
अहिले संसारभरि ७० वटा देशहरुमा ९० हजारमा संक्रमण देखापरिसकेको छ । तीमध्ये ठूलो हिस्सा, झन्डै ९० प्रतिशत सक्रमण चीनमा रहेको छ, र ती पनि धेरै जसो गत वर्ष भाइरस संक्रमण देखापरेको हुबेई प्रान्त मै रहेको छ । करिब ८,८०० संक्रमणहरु चीन बाहिर रहेको छन्, जसमध्ये पनि ८१ प्रतिशत चार देशहरु इरान, दक्षिण कोरिया, इटाली र जापानमा छन् ।
यसैगरी, दक्षिण कोरियाले कोरोना भाइरस विरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताए । सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ । योसँगै कोरियामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रपति मुनले भाइरसविरूद्धको लडाइँमा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *