‘ब्याक गियर’ नभएको गाडीको ‘ब्याक’ तिरै यात्रा !

रमेश सुनुवार
एक जमाना थियो जब माओवादी पार्टीको विशाल फौजले देशभरि मार्चपास्ट गथ्र्यो तब सातो हराएको एमाले पार्टीका दुब्ला–पातला नेता केपी वली अगाडि गएर उभिन्थे र उद्घोष गर्थे, ‘मेरो गाडीमा ‘ ब्याक गियर’ छैन ।’ उनको त्यो व्यवहार मुड्कीले हानेर पहरो फुटाउने दुस्साहसजस्तै लाग्थ्यो । तर बिस्तारै समय बदलियो । प्रचण्ड नेतृत्वको माओवादी ओइलायो, एमाले मौलायो । माओवादी दुब्लायो, एमाले मोटायो । माओवादी ओरालो लाग्यो, एमाले उकालो लग्यो । अन्ततः ओरालो लाग्दै गरेको माओवादी र उकालो लाग्दै गरेको एमालेका बीच बाटोमा भेट भयो । त्यसपछि माक्र्सवाद र कम्युनिस्ट पार्टी दुवैको अपमान र बदनाम हुने गरी एउटा नक्कली पार्टी बन्छ । नाम राखिन्छ– डबल नेकपा ! सँगसँगै त्यही पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार बन्छ । प्रधानमन्त्री बन्छन– ‘ब्याक गियर’ नभएको गाडी चढ्ने केपी वली !
अब के चाहियो, दुवै हातमा लड्डु ! शुभारम्भ हुन्छ महायात्रा । प्रधानमन्त्री एकपछि अर्को घोषणा गर्दै जान्छन्– भूपरिवेष्ठित देशमा पानीजहाज, पहाडैपहाडले भरिएको देशमा रेल, धारामा पानी पनि नआउने देशमा घरघरमा ग्याँसपाइप, हरेक नेपालीलाई रोजगारी, भोकको उन्मूलन, रोगको उन्मूलन, तराईमा शीतलहरको उन्मूलन‘ इत्यादि ।
एकातिर कहिल्यै पछाडि नफर्किने गाडी, अर्को्तिर दुईतिहाइ बहुमतको जादुको छडी । त्यसले अद्भुत चमत्कार गर्छ । शत्रुलाई तर्साउँदा पनि दुईतिहाइ, मालिकलाई रिझाउँदा पनि दुईतिहाइ । चोर्नुीिठक छ भन्दा पनि दुईतिहाइ, चोर्नु हुँदैन भन्दा पनि दुईतिहाइ । सबैतिर काम लाग्ने यो ‘दुईतिहाइ बहुमत’ चटकेको बुटीभन्दा कुनै मानेमा कम छैन ।
तर कस्तो आश्चर्य ! गाडी छ ‘ब्याक गियर’ नभएको, यात्रा छ पछाडितिर । अहिले केपी वली गणतन्त्रमा बसेर राजतन्त्रको अभ्यास गरिरहेका छन् । देशबाट भ्रष्टाचार उन्मूलन हुनुको सट्टा नेताहरू नै भ्रष्टाचारमा संलग्न छन् । अपराधीहरू दण्डित हुनुको सट्टा राज्यद्वारा नै संरक्षित भइरहेका छन् । स्वतन्त्रता बढ्नुको सट्टा निरङ्कुशता बढिरहेको छ । प्रगतिशील चेतना फैलिनुको सट्टा रूढिवाद फैलिरहेको छ । दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध लगाएरसमेत कम्युनिस्टहरूकै बदनाम गरिरहेको छ ।
देशमा दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार छ । काठमाडौँ महानगरपालिकामा कम्युनिस्ट मेयर विराजमान छन् । तर सडक धुलाम्मे र दुर्ग्न्धित छ । हावा चल्दा पनि धुलो उड्छ र गाडीहरू गुड्दा पनि धुलो उड्छ । त्यसबाट बच्नका लागि सबैले मास्क लगाएर हिँड्नुपर्छ । तर मानिसहरूले मास्क लगाएको देख्दा प्रधानमन्त्रीलाई खपिनसक्नु हुन्छ । उनी आक्रोश व्यक्त गर्छन्, ‘मास्क लगाएर हिँड्नु सरकारको विरोध हो ।’ बिचरा नेपाली जनता, मास्क लगाउँदा सरकारको आक्रोशको सिकार हुने, मास्क नलगाउँदा क्यान्सरको सिकार हुने ! कर्मै खोटो भएपछि के लाग्छ र ?
नेपाली समाजमा एउटा प्रसिद्ध भनाइ प्रचलित छ, ‘जता काफल पाक्यो, त्यतै चरी नाच्यो ।’ यो भनाइ चरितार्थ हुने गरी अहिले डबल नेकपामा प्रवेश गर्ने मानिसहरूको लर्को लागेको छ । त्यहाँ को इमानी र को बेइमान, को सदाचारी र को भ्रष्टाचारी, को क्रान्तिकारी र को प्रतिक्रियावादी भन्ने कुनै भेदभाव छैन । डबल नेकपाका नेताहरू सगर्व उद्घोष गर्छन्, ‘देश बनाउनका लागि सबै मिल्नुपर्छ ।’ तर आजसम्मको इतिहासमा इमानी र बेइमान, सदाचारी र भ्रष्टाचारी, क्रान्तिकारी र प्रतिक्रियावादी मिलेर देश बनेको उदाहरण कतै देखिएको छैन । देश बनाउनका लागि जहिले पनि बेइमानीका विरुद्ध इमानीले, भ्रष्टाचारीका विरुद्ध सदाचारीले, प्रतिक्रियावादीका विरुद्ध क्रान्तिकारीले अनवरत सङ्घर्ष गर्नुपरेको छ । सबै मिलेर देश बन्थ्यो भने राणाकालमा सबै मिल्दा हुन्थ्यो होला, पञ्चायतकालमा सबै मिल्दा हुन्थ्यो होला र दसबर्से जनयुद्धको पनि आवश्यकता पर्दैनथ्यो होला ।
सत्ताको वरिपरि बस्ने पहरेदारहरूलाई आलोचना सह्य हुँदैन, खपिनसक्नु हुन्छ । उनीहरू अरिङ्गाल बन्छन् र विरोधीहरूमाथि जाइलाग्छन् । उनीहरूका तर्क पनि अचम्मका हुन्छन् । अन्तर्रा्ष्ट्रिय कुरा गर्यो, राष्ट्रिय तर्क गर्छन्स राष्ट्रिय कुरा गर्यो, अन्तर्रा्ष्ट्रिय तर्क गर्छन् । नेपालमा चीनको जस्तो नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन भन्यो भने उनीहरू नेपालमा नेपाली विशिष्टताको जनवादी क्रान्ति भइसक्यो भन्छन् । नेपालमा सङ्ग्रहालयमा थन्किसकेको राजाको शब्द ‘मेरो सरकार’ किन प्रयोग गरियो भन्यो भने उनीहरू यो त अन्तर्रा्ष्ट्रिय प्रचलन हो भन्छन् ।

दोस्रो विश्वयुद्धको बेला हिटलरका एक सञ्चारमन्त्री थिए । उनको नाम गोयबल्स थियो । उनले असत्यलाई हजारौँपटक दोहोर्याएर सत्य बनाइदिन्थे । त्यसकारण उनी गलत कुरालाई सही सिद्ध गर्ने व्यक्तिका रूपमा विश्वप्रसिद्ध छन् । गलत कुरालाई सही सिद्ध गर्ने यस्तो तरिकालाई उनकै सम्मानमा ‘गोयबल्स शैली’ भन्ने नामकरण गरिएको छ । अहिले नेपालमा सरकारको वरिपरि घेरा हालेर बस्ने मानिसहरू त्यही ‘ गोयबल्स शैली’ मा तर्क गरिरहेका छन् ।
सरकारको उल्टो यात्रालाई जतिसुकै गोयबल्स शैलीमा प्रचार गरियोस्, सरकारको आलोचनाका विरुद्ध जस्तोसुकै धम्की दिइयोस् तर कवि श्रवण मुकारुङको कवितामा बिसे नगर्चीले भनेजस्तै अब नेपाली जनताले भन्नैपर्ने भयो, ‘सरकार बहुलाएको हो कि हाम्रो गर्धन चिलाएको हो, सरकारको यात्रा त पछाडितिरै छ ।’
हिले ‘ब्याक गियर’ नभएको गाडीमा सवार साहसी केपी वली मृत्युसँग डराएको देखियो । उनले मानिसहरूले मलाई मरोस् भने भनेर दुःख व्यक्त गरे । तर उनी मानिसहरूले त्यस्तो कामना किन गर्छन् भनेर किन सोच्दैनन् ? मानिसहरूको मन–मस्तिष्कमा प्रेम र सम्मानको भावनाले बास गर्नु र आँखाको कसिङ्गर बनेर राज गर्नुमा आकाश–पाताल अन्तर हुन्छ । मानिसहरूको मन–मस्तिष्कमा प्रेम र सम्मानले बास गर्नेहरू मरेर पनि अमर हुन्छन् तर आँखाको कसिङ्गर बनेर राज गर्नेहरू बाँचेर पनि मरेतुल्य हुन्छन् । यति कुरा मनन गरे त पुगिहाल्थ्यो होला नि !
सायद ‘ब्याक गियर’ नभएको गाडी चढेर पछाडितिर यात्रा गर्ने प्रधानमन्त्रीको कार्यकाल भएर होला, यहाँ अरूको पनि यात्रा पछाडितिरै देखिएको छ । आफूलाई माक्र्सवादको प्राधिकार ठानेर, माक्र्सकै उत्तराधिकारी भएजस्तै को सक्कली माक्र्सवादी हो, को नक्कली माक्र्सवादी हो भनेर माक्र्सवादको प्रमाणपत्र वितरण गर्दै हिँड्नेहरू विश्वहिन्दु महासङ्घको जस्तो सभा–सम्मेलन गर्छन् । उनीहरू वेदमा माक्र्सवाद खोज्छन्, बुद्धदर्शनमा गणतन्त्र खोज्छन् र योग–ध्यानमा साम्यवाद खोज्छन् । अनि आफ्नो समयमा आफूले प्रयत्न गर्न छोडेर पच्चीस सय वर्षअगाडि जन्मिएका बुद्धलाई आजको समाज निर्माण गर्ने ठेक्का दिन्छन् ।
रिमोट कन्ट्रोलर प्रयोग गरेर अरू ग्रहहरूको सतहमा यान चलाउने आजको युगमा साँढे चढेर हिँड्ने शिवलाई महान् दार्श्निक घोषित गरिन्छ र मानवसभ्यताको आरम्भ नेपालबाटै भएको थियो भनेर ग्रन्थ लेखिन्छ । त्यसो त उहिले नै माधव घिमिरेले लेखिसकेका थिए, ‘बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान, शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान ।’ त्यही लेखेर उनी कथित राष्ट्रकवि घोषित भए । अब यो राष्ट्रकवि हुने प्रतिस्पर्धामा अरू केके लेखिने हुन् ?
यी कुनै मिसावट नभएका, शतप्रतिशत सक्कली माक्र्सवादीहरूलाई आफ्नो युगका र आफ्नै वरिपरिका घटनाहरूसँग कुनै सरोकार छैन । उनीहरू त सुदूर विगतका बारेमा दिनरात चिन्तन–मननमा निमग्न हुन्छन् र अनौठा–अनौठा तथ्यहरू पत्ता लगाएको दाबी गर्छन् । आफ्नो युगमा भएका घटनाहरूको अध्ययन–अनुसन्धान गरेर भविष्यको खाका कोर्न छोडेर उनीहरू विगतको दर्शन लेखेर गर्व गर्छन् ।
दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्रीबाट उद्घाटित उल्टो यात्रामा यसरी निरन्तर प्रगति भइरहेको छ । सबैलाई शुभयात्रा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *