आउँदो दशैंमा ‘छक्का पन्जा ४’ र ‘कबड्डी ४’ भिडन्त हुने


काठमाडौं, २० फागुन । अर्को वर्षको दशैंको फूलपातीमा ‘छक्का पन्जा ४’ र ‘कबड्डी ४’ भिडन्त हुने भएको छ । आइतवार फिल्म ‘सेन्टी भाइरस’ को ९ दिने कलेक्सन रिपोर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका निर्देशक तथा निर्माता रामबाबु गुरुङले ‘कबड्डी’ को चौथो पार्ट अर्को वर्षको दशैंमा प्रदर्शनमा आउन बताए पछि ‘छक्का पजा ४’ र ‘ कबड्डी ४’ भिडन्त हुने भएको हो ।
फिल्म, ‘छक्का पन्जा ४’, ‘अल्लारे २’, ‘परदेशी २’, ‘ए मेरो हजुर ४’, र ‘प्रेम पूजा’ ले अर्को वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेका छन् । अभिनेता अनमोल केसीले अभिनय गर्ने फिल्म ‘पारस’ पनि २०७७ सालको दशैंको फूलपातीमा प्रदर्शनमा आउने चर्चा छ ।
दशैंको विदामा फिल्म प्रदर्शन गर्दा लगानी उठ्ने लगभग ग्यारेन्टीझैँ हुन्छ । दशैंमा लामो विदा हुने भएका कारण दर्शकको ठूलो भीड हलसम्म आउने सोचाइले नेपाली निर्माताबीच दशैं विदामा फिल्म प्रदर्शन गर्न हानाथाप हुने गरेको छ । यस वर्षको दशैंको घटस्थापना र फूलपातीमा पनि फिल्म प्रदर्शनका लागि ठूलो रस्साकस्सी भएको थियो । तर, कुनै फिल्मबीच भिडन्त भने भएन ।
२०७६ सालले विदा पनि नमाग्दै अर्को वर्षको दशैंको फूलपातीका लागि ठूला ब्यानरले अहिलेदेखि नै फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालिसकेका छन् । अहिलेसम्म दशैंको फूलपातीका लागि आधा दर्जन बढी फिल्मले प्रदर्शन मिति तोकिसकेका छन् । यसमा हिट फिल्मका सिरिज धेरै छन् । यीमध्ये तोकिएकै मितिमा चाहिँ कति फिल्म प्रदर्शनमा आउँछन् ? त्यो भने हेर्न बाँकी छ ।
दीपकराज गिरी र रामबाबु गुरुङ समुहबीच अघोषित शितयुद्ध चलेको छ । यही इगोमा रामबाबुले अर्को वर्षको दशैंको फूलपातीमा ‘छक्का पन्जा ४’ सँग भिड्न ‘कबड्डी ४’ ल्याउने भएको देखिन्छ । अहिले उनी फिल्मको स्क्रिप्टमा व्यस्त छन् । सम्भवतः आउँदो जेठबाट फिल्मको छायांकन सुरु हुनेछ । ‘कबड्डी ४’ पछि यो फिल्मको सिरिज नबन्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *