काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन । मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवश्यक निर्देशन दिएका थिए । यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए । सोही अनुसार ओलीको आवश्यक प्रक्रिया पूरा भएपछि बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि फेरिएको मृगौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराइरहेका थिए । ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनले गत साउनयता नियमित डाइलायसिस समेत गर्दै आएका थिए । प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ ।
अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको ६ चिकित्सकको निगरानीमो बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्र्रा डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।
यसैगरी, प्रधानमन्त्रीओलीले मिर्गाैला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गरेका छन । पुनःमिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरी उनले भर्खर जागृत हँुदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताएका छन । उनले भनेका छन, “कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ, त्यसलाई ब्युँत्याउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सबैले आफूलाई उभ्याउनुभयो, यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छाँै, जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हँुदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न, संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ, म पुनःएक पटक आग्रह गर्दछु मेरो स्वास्थ्यलाई लिएर यहाँ ढुक्क रहनुस् ।”
आफ्नो सिङ्गो जीवन कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष, कहिले राष्ट्रियहित तथा स्वाभिमानका लागि सङ्घर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेसँगको सङ्घर्षलगायत कुनै न कुनै किसिमको सङ्घर्षमा बित्दै आएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन । मुलुकमा व्याप्त यसप्रकार विविध समस्यासँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य हुनु परेको बताएका छन ।