रंगशाला निर्माण सहयोगार्थका लागि फिल्म हेर्न हल बुक


काठमाडौं, १६ फागुन । चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोगार्थ फिल्म हेर्न हलै बुक गरेका छन् । ‘धुर्मुस सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को कमाईको ५० प्रतिशत रंगशाला निर्माण सहयोग गर्ने घोषणा भएकोले विभिन्न स्कुल, सहकारी संस्था लगायत संघ संस्थाहरुले हल नै बुक गरेका हुन् ।
बिहीवार अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सले लाबिम मलको १२ः४५ बजेको शो, न्यु जेनिथ स्कुलले छाँया सेन्टरको तीनवटै हल, जेम्स स्कुलले लाबिम मलको विहान ९ बजेको तीनवटै हल बुक गरेर विद्यार्थीलाई फिल्म देखाएको छ । यस्तै, ओलम्पियन दीपक विष्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको निमित्त बानेश्वरको वान सिनेमाजमा बिहीवार दिउँसो १२ बजेको शो किनेका छन् ।
जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि बिहीवार कुमारी हलको साँझ ६ बजे र मिट लाइफ इन्सुरेन्सले छायाँ सेन्टरको ३ बजेको शो बुक गरिसकेको कलाकार सिताराम कट्टेलले जानकारी दिएका छन् । बुधवार पनि भि.एस. निकेतन स्कुलले कुमारी हलको १२ बजेको शो बुक गरेर आफ्ना विद्यार्थीलाई फिल्म देखाइसकेको छ ।
राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरु ले फिल्मलाई उपलब्ध गराएका सोज प्रायः सोल्ड आउट भैसकेका छन् । फिल्म हेर्न हल नै बुक गरेर रंगशाला निर्माणमा हातेमालो गरेको भन्दै कलाकार कट्टेलले धन्यवाद व्यक्त गरेका छन् ।
कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गरेको फिल्म ‘सेन्टी भाइरस’ ले भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ । तीन दिने विकेन्डमा तीन करोडको हाराहारीमा व्यापार गरेको फिल्मको सोमबारबाट कमाईमा केही गिरावट आए पनि अरु दिनमा राम्रै कमाइ गरेको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । श्रीमान–श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित छ । कथावस्तु बलियो भए पनि प्रस्तुतीकरण फितलो हुँदा फिल्म उत्कृष्ट बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *