फिल्म ‘धुलो’ले रिक्सा चालकलाई सम्मान


काठमाडौं, १६ फागुन । फिल्म ‘धुलो’ ले रिक्सा चालकलाई सम्मान गरेको छ । बुधवार क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रमका बीच लामो रिक्सा चलाएर जीवनयापन गर्दै हिरालाल तामाङ र बलबहादुर श्रेष्ठलाई फिल्मको टिमले सम्मान गरेको हो ।
उनीहरुलाई बरिष्ठ कलाकार नीर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र फिल्मका निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका हुन् । त्यस्तै, एक सयभन्दा बढी रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट समेत प्रदान गरिएको थियो । कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा रिक्सा मजदुरका दुईजना छोरा–छोरीलाई छात्रवृत्तिको व्यवस्था पनि मिलाइएको छ ।
कार्यक्रममा ‘धुलो’ ले गरेको सामाजिक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतले प्रशंसा गरेका थिए । कार्यक्रमपछि ‘धुलो’ मा विशेष भूमिकामा रहेका नीर शाह, कलाकार बुद्धि तामाङ, निर्देशक मिश्र, निर्माता संघका अध्यक्ष अधिकारीलगायतले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेका थिए ।
राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम गरिएको निर्देशक मिश्रले बताए । कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन् । त्यस्तै, कलाकार तामाङले आफू ‘धुलो’ मा वास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताएका छन् ।
दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, लक्ष्मी बर्देवा, बालकलाकार सुदीप कार्कीलगायतका कलाकारको अभिनय छ । लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्ममा केशव मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको छ । फिल्म यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *