उपराष्ट्रपतिद्वारा मगर दिवसको उद्घाटन

स्याङ्जा, १६ फागुन । ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । बिहीबार नेपाल मगर सङ्घ स्याङ्जाले आयोजना ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गरेका हुन् ।
मगर एकता दिवसको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताएका छन् । उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचारलाई जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने दाबी गरेका छन् ।
तीनै तहका सरकारले भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नु उनले बताएका छन् । अनि मात्रै विकासले फड्को मार्ने बताए । उनले मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताएका छन् । उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिए । उनले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष बिलबहादुर थापालगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *