पुलिसलाई १–० ले हराउँदै आर्मी राइनो गोल्डकप च्याम्पियन

काठमाडौं, १५ फागुन । राइनो कप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई बुधबार १–० ले हराउँदै त्रिभुवन आर्मी क्लबले च्याम्पियन बनेको छ । बुधबार नवलपुरको मध्यविन्दु रंगशालामा भएको फाइनल खेलमा आर्मीले उपाधि जितेको हो ।
उपाधिका लागि आर्मिका सुदिल राईले सातौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको छ । फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि सेमिफाइनल पुगेको छ । पुलिसले बिहीबार फाइनल प्रवेशका लागि लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबको सामना गर्नेछ ।
आर्मी भने झापाको झिलझिलेमा आइतबार सम्पन्न सताक्षी गोल्डकपको सेमिफाइनलमा मछिन्द्रसँग नै पराजित भएको थियो । फाइनलनमा रुस्लान थ्री स्टार क्लबलाई हराउँदै मछिन्द्रले सताक्षी गोल्डकप जितेको थियो । अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई ५–१ ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको थियो ।
पुलिसले भने मंगलबार मात्र साविक विजेता च्यासल युथ क्लबलाई २–० ले निराश पार्दै उपाधि नजिक पुगेको थियो । पुलिस सेमिफाइनल जितेको २४ घन्टा नबित्दै फाइनल खेलेको हो । राइनो कपको विजेता आर्मीले १० लाख र दोस्रो पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
त्यसैगरी, मनाङ मर्स्याङ्दी क्लबले २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ । बुधबार धरान रंगशालामा भएको सेमिफाइनलमा युनाइटेड कर्साङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै मनाङ फाइनलमा स्थान बनाएको छ । मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरे । खेलको २० औं मिनेटमा कमल श्रेष्ठको क्रसमा विमलले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफको इन्ज्युरी समयमा दयानन्दले अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे । उनले निशान लिम्बुको क्रसमा हेडरमार्फत गोल गरेका थिए । बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा विहीबार (आज) लिग विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *