“आज र भोलि वर्षा हुने सम्भावना छैन”

 

काठमाडौं, १५ फागुन । आज र भोलि देशभर वर्षा हुने सम्भावना नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार हुने मौसमविद् महाशाखाले जनाएको छ । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने औँल्याइएको छ ।
शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपछि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *