गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय,प्रधानमन्त्री खतिवडालाई नै निरन्तरता दिने पक्षमा

काठमाडौं, १५ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाइ राष्ट्रिय सभामा लैजाने सचिवालयले निर्णय गरेको छ । तर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली भने अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा देखिएका छन । जसले गर्दा अहिले नेकपामा विवाद आएको छ । प्रधानमन्त्री ओलीले व्यापारीहरूको इशारामा अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागिएको आरोप लगाएका छन् । सचिवालय बैठकमा ओलीले अर्थमन्त्री खतिवडालाई हटाउने योजनाका साथ उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान खोजिएको समेत बताएका छन । ’तपाईंहरू बाहिर छलफल गरेर यहाँ निर्णय सुनाउने तरिकाले आउनुहुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ’मन्त्रिपरिषदले गर्ने निर्णयमा समेत अंकुश लगाएर कसरी हुन्छ ?’ ।
श्रोतका अनुसार मंगलबार नेकपाका अर्का अध्यक्ष ’प्रचण्ड’को निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम भेला भएका थिए । खुमलटार भेलाले ओलीलाई अल्पमतमा पारेर काम गर्न अप्ठयारो पार्ने योजना समेत बनाएको बालुवाटारको आरोप छ । सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको केही बेरमै प्रधानमन्त्री ओलीले सचिवालय सदस्य माधव नेपाललाई सचिवालय निर्णय मान्न नसक्ने बताएका थिए । त्यसपछि ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो । नेपालसँगको भेटमा समेत ओलीले व्यापारीका दबाव र इशारामा गरिएको निर्णय कार्यान्वयन गर्न नसकिने बताएको श्रोतको दावी छ । दुई नेताबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।’ अर्थमन्त्री खतिवडाको कामबाट आत्तिएका केही व्यापारीले वामदेवजीलाई अगाडि सारेका छन,’ प्रधानमन्त्री निकट श्रोतले भन्यो, ’६ महिनासम्म खतिवडा नै अर्थमन्त्री रहनुहुन्छ । अर्को कुरा वामदेवजीलाई राष्ट्रिय सभामा अहिले नै लैजाने भनेर पनि भनिएको छैन ।’
अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले गौतमलाई संविधान संशोधन नगरिकनै राष्ट्रिय सभामा लैजान मनाएका थिए । तर ओली यसमा सहमत भएनन। उनि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिटमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने पक्षमा छन । खतिवडाको आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाको कार्यकाल सकिँदैछ । खतिवडालाई नै अघि सार्ने ओलीको कदमपछि राष्ट्रिय सभामा जाने गौतमको चाहना पूरा हुने सम्भावना घटेको छ । सांसद हुँदै प्रधानमन्त्री बन्ने सपनामा ठेस लागेको छ ।
यता, पार्टी सचिवालयले गरेको निर्णय कसैले उल्ट्याउन नसक्ने नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले दावी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *