‘अस्पतालमा बिरामीले दुःख पाउन नहुने’


चितवन, १४ फागुन । अस्पतालमा बिरामीले दुःख पाउन नहुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताएका हुन् । गृहमन्त्री थापाले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको बताएका छन् ।
उनले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताए । उनले अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको दाबी गरेका छन् ।
सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *