अवैध वित्तिय कारोबारमा संलग्न ४ जना पक्राउ

 

वीरगन्ज, १४ फागुन । अवैध वित्तिय कारोबार गर्ने ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहहरीले स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँ बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार २ जनालाई नगद १९ लाख ७१ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरीया १ घर भइ वीरगन्ज–१६ नगवा बस्दै आएका ४१ वर्षीय संजय कुमार साह र वीरगन्ज महानगरपालिका–१६ बस्ने ३० वर्षीय जयलाल महतो रहेका छन् । प्रहरीका अनुसार संजय कुमार साहको साथबाट नगद ९ लाख ७१ हजार र जयलाल महतोको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको जनाएको छ ।
यसैगरी, मंगलबार नगद ७ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ भन्सार कार्यालयको गेटबाट फरक फरक मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको रक्सौल डुमरिया घर भएका ३५ वर्षीय विजय कुमार ठाकुर र वीरगन्ज–१६ नगवा बस्ने ३१ वर्षीय राजु कुमार कलवार छन् । भारतीय नम्बर प्लेट बीआर–०५–एए–७२५५ को मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आइरहेका ठाकुरको साथबाट ४ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, भारतीय नम्बर प्लेट बीआर–०५–डी–५०१८ को मोटरसाइकलमा सवार राजु कुमार कलवारको साथबाट ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *