प्रधानमन्त्रीलाई सदनमा रुलिङ गर्न प्रतिपक्षी दल कांग्रेसको माग

काठमाडौं, १४ फागुन । संसदको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा रुलिङ गर्न सभामुख अग्नि प्रसाद सापकोटासँग माग गरेका छन् । सभामुखसँग प्रधानमन्त्रीलाई सदनमा रुलिङ गर्न कांगे्रसका सांसद गगन थापाले माग गरेका हुन् ।
मंगलवार कांगे्रसका सांसद थापाले सेक्युरिटी प्रेस खरिदबारे भएको घुस प्रकरणमा प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन् ।
सांसद थापाले सञ्चारमन्त्री गोकुल बाँस्कोटा र एजेन्ट विजय मिश्रबीचको कुराकानी हामीले फागुन ९ गते सुन्यौ । हामीले सुन्नुअघि नै एकमहिना अघि प्रधानमन्त्रीले सुनेको दाबी सञ्चारमाध्यममा आएका छन् । थापाले यसबारेमा संसदमा उभिएर जवाफ दिन माग गरेका छन् । थापाले प्रधानमन्त्रीले संसदको सामना गर्नैपर्ने बताए । यसको बारेमा आँखामा आँखा जुधाएर संसदमा उत्तर दिने प्रधानमन्त्रीसँग यो हिम्मत छ कि छैन भन्दै गज्रेका छन् ।
सांसद थापाले डाँडाकाँडा, तालतलैया डुलेर बस्ने हैन ।सदनमा उभिनैपर्छ । हाम्रो प्रश्नको सामना गर्नुपर्छ । सदनमा हामी निम्छरो प्रश्न सोध्दैनौ । थापाले प्रेस खरिद प्रकरणबाहेक अन्य ठेक्कामासमेत सरकार सामेल रहेको आरोप लगाएका छन् । उनले यस काण्डमा प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन् । थापाले स्याटालाइटदेखि अप्टिकल फाइबर विस्तार र फ्रि इन्टरनेटको सबैको ठेक्कामा सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुरा थाहा भएको बताएका छन् । उनले परिस्थिति नियन्त्रण बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोको बनाएको आरोप लगाएका छन् ।
थापाले प्रधानमन्त्रीजी भ्रष्टाचारको मुख हेर्न बालुवाटारमा एना छ कि छैन भनेर नागरिकले प्रश्न गरेको सन्दर्भसमेत उठाए । उनले अहिले प्रधानमन्त्री ओली यतीवादी भएको बताएका छन् । तपाईकै नेताहरु कानेखुसी गर्दै भन्छन्, हाम्रा प्रधानमन्त्री जी पहिले माक्सवादीजस्तो देखिन्थे, बीचमा समाजवादीजस्तो देखिए, अहिले यतीवादी देखिन थालेको छन् ।
प्रधानमन्त्रीले धेरै कुरा थाहा पाएर पनि थाहा नपाएजस्तै गरी बसेकाले शासन गर्ने वैधतासमेत गुमाईसकेको थापाले दाबी गरेका छन् ।
यसैगरी, कांग्रेस सांसद मीनेन्द्र रिजालले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा मनलाग्दी रूपमा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दा भएको बताएका छन् ।
उनले कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ । सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए । अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ, रिजालले भने, त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला ।
उनले यति हुँदा पनि प्रधानमन्त्री ओली राजामहाराजाले जसरी जन्मोत्सव मनाउन व्यस्त रहेको बताएका छन् ।
रिजालले प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन । तर जनता तपाईंको सत्ताउन्माद देखेर निराश भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *