एमसीसी सम्झौता विरुद्धमा  दश वाम एक ठाम,एमसीसी सम्झौताको कागज जलाउन खोज्ने ३ जना पक्राउ

 

 

काठमाडौं, १४ फागुन । दश वामपन्थी दलहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र कालापानी भूभागलाई भारतीय नक्सामा सामेल गरेको विषयलाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन् । मंगलबार बसेको दश वामपन्थी दलहरुको संयुक्त बैठकले संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ । संघर्षका कार्यक्रम अन्तर्गत फागुन १५ गते अन्तरक्रिया कार्यक्रम, १६ गते दबाबमुलक कार्यक्रम र २२ गते दिउँसो १२ बजे माइतीघर मण्डलाबाट  संसद भवनसम्म विरोध जुलुस निकाल्ने निर्णय भएको दश दलद्वारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।संयुक्त बैठकमा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समिति, नेकपा (माओवादी केन्द्र), जन समाजावादी पार्टी, राष्ट्रिय जागरण परिषद र नेकपा संयुक्तको सहभागिगता रहेको थियो ।

यसैगरी, एमसीसी सम्झौताको विरोधस्वरूप सम्झौताको कागज जलाउन खोज्ने क्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो काठमाडौँको आरआर क्याम्पसअगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका अध्यक्ष गजुरेल, केन्द्रीय सदस्य सुलभ वैद्य र पोखरा विश्वविद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो । एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधीनतालगायतका पक्षमा काठमाडौँमा निकालिएको शान्ति¥यालीपछि कोणसभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरूलाई पक्राउ गरेको हो । प्रदर्शनमा सहभागीहरुले एमसिसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले गरेको हस्तक्षेप बन्द गर्नुपर्ने माग गरेका थिए। उनीहरुले ‘भारतीय सेना कालापानी छोड, छोड, छोड कालापानी छोड’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘एमसिसी खारेज गर’, ‘भारतीय विस्तावाद मुर्दावाद’, ‘कालापानी हाम्रै हो’ लगायतका नारा लगाएका थिए । अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेटअगाडि कोणसभा गरेको थियो ।

यस्तै,

। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।  राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो । एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षेत्रमा युद्ध गरी हतियारको ब्यापार गर्ने रहेको उनले बताए । नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए । प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दावाद लगायतका नारा लगाइएका थिए । त्यसैगरी सैन्य गठबन्धन चाँहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए । विरोध प्रदर्शनमा हजारौको सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *