‘सेन्टी भाइरस’ फागुन ९ गतेबाट प्रदर्शनमा आउने


काठमाडौं, १ फागुन । हास्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । ‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘पार्टी जिताइदे’ चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा खिचिएको छ । फिल्मको कथाको मागअनुसार गीतको छायांकन गरिएको निर्माण टिमले बताएको छ । गीतमा फिल्मका प्रमुख कलाकारहरु कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, विल्सन विक्रम राईलगायतलाई देख्न सकिनेछ । गीतको भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीका नेता तथा कार्यकर्ताबीचको झै–झगडालाई देखाइएको छ । यो गीतले फिल्मको मूल मर्म बोल्ने अभिनेत्री कुञ्जना घिमिरेले बताइन् । ‘सेन्टी भाइरस’ राजनीतिले परिवारमा ल्याउने द्वन्द्वमा आधारित छ । कलाकारिता हुँदै २०७२ सालमा आएको महाभूकम्पपछि सामाजिक कार्यमा सक्रिय ‘धुर्मुस सुन्तली’ को अभिनय रहेका कारण यो फिल्मको दर्शकमाझ व्यग्र प्रतिक्षा भैरहेको छ । ‘मेरी बाँस्सै’ हास्यटेलिश्रृंखलामा एकसाथ अभिनय गरे पनि यो जोडीले फिल्ममा भने सँगै काम गरेको थिएन । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका कारण ‘सेन्टी भाइरस’ प्रति अपेक्षा पनि उच्च छ । फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *