छुवाछूतविरुद्ध राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न माग

काठमाडौं, १ फागुन । छुवाछूतविरुद्ध राष्ट्रिय जागरण अभियान सञ्चालन गरी व्यावहारिक रुपमै जातीय विभेदको अन्त्य गर्न सांसदहरूले माग गरेका छन । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसदले दलित समुदायमाथि हुने छुवाछूतविरुद्ध राष्ट्रिय जागरण अभियान सञ्चालन गरी व्यावहारिक रुपमै जातीय विभेदको अन्त्य गर्न माग गरेका हुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले जातीय उत्पीडन, बहिष्करण र छुवाछूत आगामी पुस्ताले व्यहोर्न नपरोस् भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन । उनले जातीय विभेद र छुवाछूत अन्त्यका लागि सरकारले दलित समुदायको अधिकार सुनिश्चित गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमै घोषणा गर्नुपर्ने माग गरेका छन । उनले छुवाछूत अन्त्यका लागि सबै तहमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपर्ने तथा सबै राजनीतिक दलले आ–आफ्ना भ्रातृ सङ्गठनमार्फत अभियान चलाउनुपर्ने बताए । सांसद रावलले सन् २०२१ देखि २०३० लाई दलित अधिकार दशक घोषणा गर्न सरकारलाई सुझावदिएका छन । नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायको हकहित र अधिकारका विषयमा वकालत हुने गरे पनि व्यावहारिक पक्ष कमजोर रहेको भन्दै छुवाछूतविरुद्धको जागरण अभियानलाई प्रभावकारी बनाउन माग गरे । उनले अहिले पनि अन्तरजातीय विवाहकै कारण कतिपयले घरबारविहीन हुनुपर्ने अवस्था सिर्जना भएकाले दलितमाथिको विभेद अन्त्य गरी सामाजिक चेतना अभिवृद्धि गरिनुपर्ने बताए ।
यसैगरी, काँग्रेस सांसद डिला सङ्ग्रौलाले ‘यती आतङ्क’ राष्ट्रकै लागि लज्जाको विषय बनेको भन्दै नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाए । नेपाल ट्रस्टले भाडामा लगाएको तीन हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको दुई हजार ७९९ रोपनी जग्गा यती समूहलाई दिइएको जिकिर गर्दैै उनले रु पाँच अर्ब नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूहलाई किन दिइयो ? भन्दै प्रश्न गरेका छन ।
नेकपा सांसद गजेन्द्रबहादुर महतले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी)का बारेमा अपव्याख्या भइरहेको भन्दै नजरअन्दाज नगर्न आग्रह गरे । एमसिसीका प्रावधानलाई बहसमा लैजान अनुरोध गर्दै सामाजिक सञ्जाल र युट्युबमा एमसिसीबारे गलत व्याख्या गरिएको भन्दै प्रस्ट पार्न आग्रह गरेका छन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल का सांसद लक्ष्मणलाल कर्णले भारतसँगको सीमावर्ती क्षेत्रका साना व्यापारीले अनावश्यक झन्झट व्यहोर्नुपर्दा उनीहरू मर्कामा परेका भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले चीनमा रहेका नेपाली विद्यार्थी चीनमा हुँदा असुरक्षित हुने र नेपाल ल्याइँदा सुरक्षित कदापि हुन नसक्ने बताए । पाकिस्तानले समेत चीनमा रहेका आफ्ना विद्यार्थीलाई फिर्ता नगरेको अवस्थामा नेपालले भने हतारमा नेपाली विद्यार्थी फिर्ता ल्याउन नहुने भन्दै उनले भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन नहुने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *