पूर्वप्रधानमन्त्रीद्वयबिरुद्ध मुद्दा चलाउन माग गर्दै रिट


काठमाडौं, १ फागुन । पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा.बाबुराम भट्टराईलाईपनि ललिता निवासको जग्गा काण्डको भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सर्वोच्च अदालतमा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउने निर्णय गरेकोले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा.भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै रिट परेको हो । बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालीन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले किन उनीहरूलाई छुट दियो ? भन्ने प्रश्न उठिरहेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउने काममा संलग्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वउप्रधानमन्त्री विजयगच्छदारसहित ४ मन्त्री, अख्तियारकै पूर्वप्रमुख, एक पूर्वसचिवलगायत १ सय ७५ जनालाई भ्रष्टाचार मुद्दा लगाएको छ । ६ हाइप्रोफाइलको भ्रष्टाचार रकम एक करोड भन्दामाथि भ्रष्टाचार गरेकाले उनीहरूलाई ११ देखि १३ वर्षसम्म कैद सजाय र विगो बमोजिम जरिवाना माग गरेको छ । एक करोडभन्दा माथिको रकम बराबर भ्रष्टाचार गर्नेलाई ८ देखि १० वर्षसम्म कैद सजाय माग अख्तियारको छ । सार्वजनिक पदाधिकारीमध्ये पूर्वमन्त्रीहरू गच्छदार, पन्त, श्रेष्ठ, र अख्तियारका पूर्वप्रमुख दिप बस्न्यातले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग छ । त्यस्तै, पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेश हरि अधिकारीले ७ करोड ८ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोग छ । उनीहरूको अभियोग प्रमाणित भए बिगो जति नै जरिवाना पनि दिनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *