फ्रेन्ड्स क्लबसँग एनआरटी पराजित


काठमाडौं, २२ माघ । सहिद स्मारक ए डिभिजन लिगको मंलबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग न्युरोड टिम (एनआरटी) पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा १० औं चरणको अन्तिम खेलमा फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको पराजित गरेको हो । सन्जोग महर्जनको गोलबाट फ्रेन्ड्सले ७८ औं मिनेटमा गागेल गरेका थिए । साउलो डि अक्विनोको लामो पासमा नवीन गुरुङले राम्ररी क्लियर गर्न नसकेको बललाई दिएको ब्याक पासमा सन्जोगले गरेको प्रहार गोलमा परिणत भएको थियो । ८० औं मिनेटमा वाग्नर डि कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । कार्मोले एकल प्रयासमा गरेको प्रहार गोलरक्षक अजित प्रजापतिलाई लाग्दै गोलमा परिणत भएको थियो ।
खेलमा फ्रेन्ड्सले थप गोलको अवसर भने सदुपयोग गर्न सकेन । १५औं मिनेटमा जोर्डन ओओनाको पासमा जुनियर निकेङ्गेको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५० औं मिनेटमा वाग्नर डि कार्मोको प्रहार पोस्टबाट थोरै बाहरियो ।
६०औं मिनेटमा दुई ब्राजिलीको तालमेलमा वाग्नरले गोल गर्ने सुन्दर मौका खेर फाले । फिलिपेको पासमा वाग्नरको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले मुस्किलले नियन्त्रणमा लिए ।
जितपछि १४ अंक पुगेको फ्रेन्ड्स च्यासल युथ क्लबलाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ । आठौं स्थानको नेपाल पुलिस क्लबको पनि समान १४ अंक नै छ । एनआरटी १५ अंकसहित सातौं स्थानमा छ । ११ औं चरणका खेल बिहीबार सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *