नेकपा सर्वाधिक लोकप्रिय दलको रुपमा स्थापित भएको दाबी


गुल्मी, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले सर्वाधिक लोकप्रिय दलको रुपमा स्थापित भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दाबी गरेका छन् । मंगलबार प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीहरु लोकतन्त्रका आधार स्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने बताए । मन्त्रि ज्ञवालीले दुई वर्षको कार्य सम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको बताएका छन् ।
जनताको वर्षौदेखिको समृद्धिको सपना वर्तमान सरकाले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरेका छन् । नेपाली जनताले वर्तमान सरकार ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनले त्यो जिम्मेवारी इमान्दारितासँग पूरा गर्न सरकार लागिपरेको बताए ।
मन्त्रि ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरुद्धमा बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई कसैले पनि तितो बनाउन नहुने बताएका छन् ।
उनले नेपालको राष्ट्रिय हित र जनताको लाभ र देशको विकास जे मा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसीसीको ’फूलफर्म’ थाहा नभएकाहरुले यसको विरुद्धमा बजारमा बहस सुरु गरेको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *