ढोरपाटन महिला लिग भलिबल सुरु


काठमाडौं, १७ माघ । ढोरपाटन महिला लिग भलिबल बिहीबारबाट सुरु भएको छ । सुरुवाती दिनमा साविक विजेता नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र होंगान्जी न्यू डायमण्ड स्पोर्टस्स क्लबले विजयी सुरुवात गरेका छन् । गोंगाबुस्थित बसपार्क नजिकैको कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिन एपिएफले चुली युवा क्लबलाई २५–६,२५–५ र २५–१३ सोझो सेटले हराएको थियो । चुली युवा क्लब त्यसअघि बुलबुले रारा क्लबसँग पराजित भएको थियो । बुलबुले २५–१४,२५–१४ र २५–१७ ले विजयी भएको थियो । आर्मीले सेब स्कुललाई २५–७,२५–४ र २५–८ को सोझो सेटमा हरायो ।आफ्ना स्टार खेलाडी प्रतिभा माली विना उत्रेको न्यू डायमण्डले पारामाउन्ट स्कुललाई ३–१ ले हराएको थियो । गत शुक्रबार आरबिबी एनभिए क्लब च्याम्पियनसिपको फाइनलका दौरान चोट लागेयता प्रतिभा त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् ।केहि दिनमा उनको बायाँ घुँडाको शल्यक्रिया गरिने बताइएको छ । उनी विनाको न्यू डायमण्डले पारामाउन्टलाई २५–५,२१–२५,२५–७ र २५–७ ले हराएको थियो । दोस्रो सेटमा नयाँ खेलाडीलाई मौका दिएको न्यू डायमण्ड तीब्र प्रतिस्पर्धाका बीच गुमाएको थियो ।पछिल्लो समय न्यू डायमण्डबाट खेल्दै आएकी राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही बिहीबार आफ्नो खेल अघि ब्लुक्रस पुगेर प्रतिभालाई भेटेर कोर्टमा पुगेकी थिइन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १५ औं संस्करणको लिगमा १० टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *