फ्रेन्ड्स क्लब र एनआरटी बिजयी


काठमाडौं, १७ माघ । न्यू रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २–० ले पराजित गरेको छ । जितसँगै एनआरटीले अंक तालिकामा थ्री स्टारलाई उछिन्दै चौथो स्थानमा १ अंकको अग्रता लिएको छ । सातौं मिनेटमा बिबिसीका लागि डेब्यु गरिरहेका सुलभ मास्केको फ्रिकिक प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । १२ औं मिनेटमा रन्दीप पौडेलको क्रसमा कप्तान अनिल गुरुङको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए । एनआरटीले ३२ औं मिनेटमा राजेशको गोलमा अग्रता लियो । दर्शन गुरुङको क्रसमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका राजेशको प्रहार डिफेन्डर पदम भट्टराईलाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको अन्त्यतिर श्याम बाबुको दोहोरो प्रहारलाई गोलरक्षक विशालले विफल पारे । दोस्रो हाफको सुरुवातमै एनआरटीले अग्रता दोब्बर पार्यो । ५२ औं मिनेटमा श्याम बाबुको पासमा राजेशले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक विशालले रोक्ने कुनै अवसर पाएनन् । एनआरटीका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि बिबिसीले खेलमा फर्कने सुवर्ण अवसर पायो । तर कप्तान अनिलको प्रहारलाई गोलरक्षक अजितले उत्कृष्ट डाइभ दिँदै बचाए । ७५ औं मिनेटमा जोर्डन ओवानाको हेडरलाई गोलरक्षक विशालले विफल पारे । ७९ औं मिनेटमा सुुलभको प्रहारलाई अजितले बचाएपछि बिबिसीको खेलमा फर्कने सम्भावना पातलिएको थियो । यस जितसँगै एनआरटी ९ खेलमा १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । लिगमा ५ जित, २ बराबरी र २ हारको नतिजा ल्याएको एनआरटी गत सिजन पुछारमा रहेको कारण २ अंक घटाइएको छ । बिबिसी भने ८ अंक जोड्दै ११ औं स्थानमा कायम छ ।
यसैगरी, सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग च्यासल युवा क्लब १–० ले पराजित भएको छ । भारतीय फरवार्ड उत्तम राईको गोलमा फ्रेन्ड्स क्लब बिजयी भएको हो । खेलको ८४ औं मिनेटमा उत्तमले गरेको गोल निर्णायक सावित भयो । विश्व अधिकारीको फ्रिकिक गोलरक्षक एलन न्यौपानेले बचाएपनि रिबाउन्डमा अनमार्क रहेका उत्तमले सहजै गोल गरे । त्यसको ३ मिनेटअघि रुमेश बर्तौलाको क्रसमा वाग्नर कार्मोको प्रहार पोस्टमा लागेर फर्किएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा सन्तोष साहुखलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर फर्कियो । विजयी टोलीका उत्तम म्यान अफ द म्याच घोषित भए ।यस जितसँगै फ्रेन्ड्सको ९ खेलमा ११ अंक जोड्दै नवौं स्थानमा पुगेको छ । च्यासल भने ९ खेलमा ९ अंक जोड्दै दशौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *