फागुन ९ गतेबाट ‘सेन्टी भाइरस’ प्रदर्शन हुने


काठमाण्डौ । फागुन ९ गतेबाट फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शन हुने भएको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टारर कमेडी फिल्म ‘सेन्टी भाइरस’ को अफिसियल ट्रेलर बुधवार सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर हेर्दा फिल्म समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको बुझ्न सकिन्छ । ट्रेलरमा केही पञ्चलाइन गजब छन् । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । फिल्ममा सिराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन् । भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल) को पार्टीलाई समर्थन गर्दै देखिएकी छन् । दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह–निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई फिल्म हेर्न आग्रह गरेका छन । कुञ्जनाले भने ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *