मानव वेचविखनको आरोपमा वडा अध्यक्ष पक्राउ

 

काठमाडौं, १७ माघ । मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले माघ १० गते सानेपाको एक घरबाट खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा काठमाडौँ महानगरपालिका वडा नं. १६ का वृजगोपाल श्रेष्ठ र भारत मोतिहारी चकिया विहार घर भई हाल ललितपुर महानगरपालिका–२ का नबल ठाकुर रहेको प्रहरीले जनाएको छ ।उनीहरुलाई माघ १० गते १२ः३० बजे नियन्त्रणमा लिएको र जिल्ला अदालत ललितपुरबाट मानववेचविखन मुद्दामा थप अनुसन्धान गर्न ९ दिनको म्याद थप भएको महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
यसैगरी, काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् । उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गे्निङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ ।
उता, मकवानपुर प्रहरीले पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद गरेको छ । बिहीबार मनहरीबाट हेटौडा जाँदै गरेको बा३च ५९९७ नम्बरको पिकअपबाट गाँजा र अफिम बरामद भएको प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीमा खटिएको प्रहरीले पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो।गाडीको पछाडिको भागमा फल्स बटम बनाएर लुकाइएको २१ वटा पोकामा गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । पिकअपका चालक बारा पर्सौनी गाउँपालिका वडा नं. ६ का २८ वर्षीय को रामजी साह तेली र बारा अदर्स कोतवाल गाउँपालिका वडा नं. २ का ३० वर्षीय प्रेम पटेल पक्राउ परेका छन् । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *