नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन

काठमाडौं, १७ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन भएको छ । राजिव ढुंगानाको अध्यक्षतामा (नेविसंघ)को तदर्थ समिति बिहीबार गठन भएको हो । नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन गरेपछि गत वर्ष माघदेखि नेविसंघ नेतृत्वविहीन थियो । नेपाली कांग्रेस केन्द्रीय समितिको २०७५ फागुन १ गतेको निर्णय अनुसार तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको एघार महिनापछि देउवाले बिहीबार नेविसंघ सभापतिसहित महामन्त्रीहरू मनोनित गरेका हुन् । महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको महाधिवेशन गर्न निर्देशन दिइएको छ । यस्तै तदर्थ कार्यसमितिमा रहेकाहरु १२ औँ महाधिवेशनमा उम्मेद्वार बन्न नपाउने भएका छन । सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श गरी नेविसंघ सभापति र महामन्त्री मनोनित गरेका हुन् । नेविसंघमा विधान मिचेर ९ जना महामन्त्री राख्ने सहमति नेताहरूबीच भइसकेको छ । सभापति देउवाले तीन, बरिष्ठ नेता पौडेलले तीन, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दुई र उपसभापति विजयकुमार गच्छदारले एक जना महामन्त्री भागबन्डाका आधारमा पाउनेछन् । नेविसंघ विधानअनुसार महामन्त्री २ जना मात्रै बनाउन मिल्छ । त्यसमा पनि मनोनित एक र निर्वाचित एक जना हुनेछन् । तर विधान मिचेर ९ महामन्त्री बनाउन लागिएको छ । अहिले दुई महामन्त्रीका नाम सार्वजनिक गरिएको हो । नेविसंघमा एक सय एक सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन मिल्ने विधानको व्यवस्था छ । तर नेताहरूले एक सय २७ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेका छन् । मुख्यसचिव पौडैलका अनुसार अब केही दिनमा नेविसंघ कार्यसमितिलाई पूर्णता दिइनेछ ।
३२ वर्षे उमेरहद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा छन । अनसनको वास्ता नगरी सभापति देउवाले विधान मिचेरै आफू निकट ढुंगानालाई नेविसंघ अध्यक्ष बनाएका हुन । आजदेखि ७५ वटै जिल्लाका पार्टी कार्यालयमा रिले अनसन शुरु भएको नेविसंघका नेता मनिष सिमखडाले बताए । उनले भने, ‘अहिले २० वटा जिल्लामा रिले अनसन नै शुरु भएको छ, यो सबै जिल्लामा शुरु हुँदैछ । हामी अझ सशक्त आन्दोलन गर्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *