नेकपा केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न केन्द्रीय सदस्यलाई १५ समूहमा विभाजन

काठमाडौँ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल शुरु भएको छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ । राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको बैठकमा आजदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बुधबार नै सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन । यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ । बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ । बैठक बुधबारबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहेको छ । सचिवालयका नौ जना नेताहरु भने उक्त छलफलमा सहभागी छैनन् । यो बैठकमा पेश भएका प्रतिवेदनमा गत पुसमा सम्पन्न स्थायी समिति बैठकले पास गरेका धेरै एजेण्डाहरु रहेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड निवासमै बसेर प्रतिवेदनहरु अध्ययनमा जुटेको ओली र प्रचण्डको निजी सचिवालयले जनाएका छन् । त्यस्तै महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठ समुहगत छलफलमा सहभागी नभएपनि राजनीतिक तथा सांगठानिक र विधान संशोधन विधेयकको अध्ययनमा जुटेको उनीहरु निकट नेताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *