गाँजा र गोलीसहित ६ जना पक्राउ

 

काठमाण्डौ, १३ माघ । पोखरा र हेटौंडाबाट गोली र गाँजासहित ६ जना पक्राउ परेका छन् । पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको प्रहरीले जनाएको छ । यति एयरलायन्सका उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनबाट परीक्षण गर्दा गोली भेटिएको हो । उक्त गोली २२ बिओआर राइफलमा प्रयोग हुने समेत प्रहरीले जानकारी दिएको छ । शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैगरी, हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ । पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् । उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ । एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो । एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ । एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ । सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुर प्रहरीले साढे १० किलो गाँजासहित अर्का दुई जनालाई पक्राउ पक्राउ गरेको छ । हेटौडा–१० स्थित पूर्वपश्चिम राजमार्गमा ना७ख ६९० नम्बरको यात्रुबाहक बसबाट साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ का कान्छाराम मोक्तान र सोही गाउँपालिका–९ का ज्ञानबहादुर प्रजा छन् । उनीहरू वीरगन्तर्फ जाँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *