काठमाण्डौ, १३ माघ । खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुट्ने ६ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । पक्राउ पर्नेहरुमा दाङको पुरन्धारा गाउँपालिका–९ खेप्ताङका बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर नगरपालिका–६ का नकुर तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका–५ घरका दवा छिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका–९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरुगया गाउँपालिका–२ खड्कुका तेन्जिङ बहादुर तामाङ र संजित वाइबा रहेका छन् ।उनीहरुले बल्ने ढुंगा छ भनी प्रलोभन देखाएर ५० लाख रुपैयाँ लुटपाट गरेको खुल्न आएको प्रहरी उपरीक्षक सिंहको भनाइ छ । उनीहरुको साथबाट १८ लाख ७५ हजार रुपैयाँ, मोटरसाइकल र सुनको औंठी समेत बरामद गरिएको छ । शुक्रवार बिहान लुटेको पैसाबाट लुटेराहरुले २४ घन्टाभित्रै पल्सर बाइक, ७७ हजार रुपैयाँको औंठी किनेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले आफूले ऋण लिएको फाइनान्सको किस्तासमेत तिर्न भ्याएको खुलेको महनगरीय अपराध महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले बताए । लुटेराले बच्चुरामलाई खुकुरी, फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर लुटेको खुलेको छ । नेपाली सेनाका पूर्व सुवेदार गुरुङ शुक्रवार काभ्रेस्थलीको जंगलमा लुटिएका थिए । गुरुङले ढुङगा किन्न बोकेको ५० लाख रुपैयाँ लुटिएको थियो । गुरुङले आफ्नो घर धितोमा उक्त रकम निकालेको प्रहरी अनुसन्धानमा खुलेको छ । लुटेराको साथबाट प्रहरीले १८ लाख ७५ हजार पाँच सय रुपैयाँ, एक थान नयाँ मोटरसाइकल, ३ थान लुट्न प्रयोग गरिएको मोटर साइकल, सुनको औंठी र मोबाइलहरु बरामद गरेको छ ।