गाउँपालिको कार्यालयमा आगजनी

बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराती गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसर कुकर बम पनि फेला परेको छ । पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ । आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँ कार्यपालिकामा पनि नेकपाकै बहुमत छ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले आगजनी र प्रेसर कुकर बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *