बिभिन्न घटनामा १४ जनाको मृत्यु

काठमाडौं, ८ माघ । मकवानपुर र धादिङमा भएका घटनामा १४ जनाको मृत्यु भएको छ । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरामा होटलमा हिटर बालेका कारण अक्सिजनको कमीले निसास्सिएर ८ जनाको मृत्यु भएको छ । थाहा नगरपालिका–४ स्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भएका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुको अस्पताल नआइपुग्दै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेहरुमा भारत केरलाका बस्ने ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीय बन्द्रा नाम गरेका भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने आठ जनामध्ये दुई बालक र दुई बालिका छन् । भारतको केरालाबाट पोखरा हुँदै दामनतर्फ घुम्न आएका थिए । बा ३ क ३६८८ नम्बर बसमा जम्मा १५ भारतीय पर्यटकहरु सोमवार मात्र पानोरोमा रिसोर्टमा पुगेका ४ वटा रुम बुकिङ गरेका थिए । मृत्यु भएका ८ जनालाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेकोे प्रहरीले जनाएको छ । प्रहरीले दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कागजात बनाएर दूतावासमार्फत् शव आफन्तको जिम्मा लगाएको छ ।
यसैगरी, भारतीय विदेश मन्त्री एस जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन् । मंगलबार ट्वीट गर्दै जयशंकरले भनेका छन्, नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको छु ।
यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए ।
यसैगरी, धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलेले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको उनले बताए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलई हलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको उनको भनाइ छ । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । धादिङको नीलकण्ठ नगरपालिका(८ मा ग १ ख १२८० नम्बरको मिनीट्रक दुर्घटना भएको थियो । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *