भारत–नेपाल सम्बन्ध छिमेकीको मात्र नभएको दाबी


काठमाडौँ, ८ माघ । भारत–नेपाल सम्बन्ध छिमेकीमात्र नभएर इतिहास र भूगोलले हामीलाई प्रकृति, परिवार, भाषा, संस्कृति लगायत कयौँ धागोमा जोडेको भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै छिमेकी पहिला नीतिलाई आफ्नो नेतृत्वको सरकारले प्राथमिकता दिएको जिकिर गरेका छन् । मोदीले कनेक्टिभिटी बढाउनु आजको आवश्यकता रहेको बताए ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताएका छन् । ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरिएको स्मरण गरेका छन् ।
प्रधानमन्त्री ओलीले भूकम्पछिको पुनःनिर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवन निर्माणमा गरिएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो दिई शीघ्र लाभको कामना गरेकामा पनि भारतीय समकक्षीलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुधँदै गएको जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै उनले आफूहरु स्वागत गर्न तत्पर रहेको बताएका छन् ।
त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले सो एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताएका छन् । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उनले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निमार्ण गरिने बताएका छन् ।
गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको उल्लेख गर्दै उनले हाल निर्माणाधीन भवनहरु बलियो हुने अपेक्षा व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफू यस वर्ष सन् २०२० मा पक्कै नेपाल आउने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *