सरकारले एमसीसीको प्रस्ताव सदनमा प्रस्तुत ग¥यो भने तत्काल नेपाल बन्दसहित संघर्ष घोषणा गर्ने विप्लव नेकपाको चेतावनी


काठमाडौं, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले वली सरकारले एमसीसीका नाममा नेपाललाई सैन्य गठबन्धनमा धकेल्न उक्त प्रस्ताव सदनमा प्रस्तुत गर्यो भने तत्काल नेपाल बन्दसहित सङ्घर्ष घोषणा गर्ने जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले तेस्रो चरणको जनसङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । कालापानी क्षेत्रमा भारतको अतिक्रमण, एमसीसी प्रस्तावसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षामा नेकपा निरन्तर लड्दै आएको छ । नेकपाले माघ १ गतेदेखि १५ गतेसम्म एमसीसी प्रस्तावका विरुद्ध सरकारी षड्यन्त्र र विकासे नाराभित्रको दलाल चरित्रको भन्डाफोर गर्ने बताएको छ भने माघ ५ गते सरकारलाई ज्ञापनपत्र बुझाएको छ । त्यसैगरी माघ १० गते काठमाडौँस्थित अमेरिकी दूतावास र माघ १२ गते संयुक्त राष्ट्रसङ्घको ललितपुर, हरिहर भवनस्थित सभाकै कार्यालयमा एमसीसी प्रस्तावका विरुद्ध ज्ञापनपत्र दिने भएको छ । अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दबाब दिइनेछ भने संयुक्त राष्ट्रसङ्घलाई अमेरिकाले नेपालमा सैन्य हस्तक्षेपमार्फत अशान्ति र द्वन्द्व मच्चाउन गर्न खोजेकाले नेपालको स्वतन्त्रताका पक्षमा भूमिका निर्वाह गर्न ध्यानाकर्षण गरिने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीले दुई साताव्यापी जनसङ्घर्षका कार्यक्रम पनि घोषणा गरेको छ । देशव्यापी रूपमा गिरफ्तार गरेर जेल र प्रहरी हिरासतमा राखिएका नेकपाका नेता–कार्यकर्ताको फोटोसहित माघ १० गते जुलुस प्रदर्शन गरिने भएको छ । विचार, नेतृत्व, भावना र कार्य्दिशा स्थापित गर्ने नयाँ शैलीका रूपमा यसलाई हेरिएको छ । माघ १६ गते जहानिया राणा सरकारले विसं १९९७ मा हत्या गरेका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री (जोशी) को सम्मान तथा स्मरणमा देशव्यापी प्रभातफेरी गरिने भएको छ । यसप्रकारको कार्यक्रमले संयुक्त मोर्चाको विकासमा नयाँ शैली, मनोविज्ञान र विचारको विकास गर्न अनुकूलता पैदा गर्नसक्छ । माघ १८ गते महँगी–आतङ्कविरुद्ध जुलुस प्रदर्शन गर्ने, माघ २० गते खुला सांस्कृतिक कार्यक्रम र माघ २५ गते कालापानी क्षेत्र अतिक्रमण, एमसीसी प्रस्ताव, ललिता निवासलगायत भ्रष्टाचार र श्वेतआतङ्कका विरुद्ध देशका सहरी क्षेत्रहरूमा गोष्ठी, अन्तरक्रिया, संवादमार्फत जनमत निर्माण गर्ने नेकपाले जनाएको छ ।
यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपाका जिल्ला सेक्रेटरीसहित २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी भुवनसिंह तामाङलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको छ । त्यसैगरी, नेकपाका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी पक्राउ परेका छन् । लोहनीलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका–४, नयाँठिमीस्थित चारदोबाटोमा अपरिचित ब्यक्तिले स्थानीय ब्यापारीहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा असुली गरी हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–९ बस्ने वर्ष ४४ का तामाङलाई नियन्त्रणमा लिएको महानगरीय परिसर भक्तपुरले मंगलबार जनाएको छ । पक्राउ परेका तामाङ प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको र उनी सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी समेत भन्ने बुझिन आएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी लोहनीलाई चितवनमा बाटोमा हिडीरहेका वेला सोमबार प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउदै आएका थिए । लोहनी यस अघि पनि चितवनमै १३ दिन हिरासत बसेर छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *