अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागनुमा हुने


काठमाडौं, ७ माघ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागनुमा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा फागुन १ देखि ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको हो ।
महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन् । प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा चलचित्रकर्मी रामवीर मानन्धरले चलचित्र क्षेत्रले राष्ट्रको पहिचानलाई बढवा दिने बताएका छन् । मुलुकको विकास र समृद्धिमा कलाकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रिय महत्वका विषयहरुलाई प्रचारप्रसारमा ल्याउन आग्रह गर्दै मानन्धरले राष्ट्रलाई चिनाउने ढङ्गले चलचित्रमा विषयवस्तु समावेश गर्न र राष्ट्र एंव राष्ट्रियतालाई सर्वोपरी मानेर चलचित्र बनाउन सुझाव दिएका छन् ।
वरिष्ठ कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकास र प्रवर्धनका लागि विभिन्न संस्थाहरु सक्रिय रहनु सकारात्मक संकेत भएको बताउदै नेपाली चलचित्रलाई अन्तरर्राष्ट्रियकरण गर्नका लागि सबैको सहयोग गर्नु पर्ने बताए छन् ।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तरराष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने जानकारी दिएका छन् । उनले ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ ।
फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछन् । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओपाओलो, र सिंगापुरका फिल्ममेकर युनि हाडी सदस्य रहनेछन् ।
वृत्तचित्र, लघु चलचित्र तथा ऐनिमेटेड चलचित्रमार्फतको जुरीको नेतृत्व श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले गर्ने छन् । उनलाई थिबाउट फ्रेक र करुण थापाले सहयोग गर्ने छन् ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्रलाई रु एक लाखको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई रु ४० हजारको पुरस्कार प्रदान गरिने छ । कथानक चलचित्रमार्फतका उत्कृष्ट निर्देशक, लेखक, छायाकार अभिनेता, र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *