फिल्म ‘दि कर्मा’ १७ माघदेखि देशव्यापी प्रदर्शन हुने


काठमाडौं, ७ माघ । एक्सन–लभस्टोरी जनरामा निर्माण भएको फिल्म ‘दि कर्मा’ यही माघ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा निर्माण भएको फिल्ममा अभिनेत्री द्वय परमिता आरएल राणा र नीता ढुंगानाको अभिनय रहेको छ । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको गीत र ट्रेलर सार्वजनिक भैसकेको छ ।
ट्रेलरमा परमिताको लुक्सले दर्शकको ध्यान खिचेको छ । पहिलो पटक नकारात्मक भूमिकामा प्रस्तुत भएकी उनको फिल्ममा बुद्धि तामाङसँग जोडी बाँधिएको छ । नीता भने फिल्मका प्रमुख अभिनेता करण वर्माको अपोजिटमा देखिँदैछिन् । करण भारतीय कलाकार भएका कारण पनि यो फिल्मप्रति धेरैको चासो बढ्को छ । फिल्मको ट्रेलरमा उनी पावरफूल एक्सन गर्दै देखिएका थिए ।
यो फिल्म अभिनेत्री द्वय परमिता र नीताका लागि बक्सअफिसमा सफल हुन् आवश्यक छ । यी दुई अभिनेत्रीले अहिलेसम्म हिटको सुख प्राप्त गर्न सकेका छैनन् । लगातार फिल्म असफल हुँदा उनीहरुको करिअर संकटमा परि रहेको छ । ‘दि कर्मा’ ले सफलताको झन्डा गाँड्न सफल भएको खण्डमा परमिता र नीताको डुब्न लागेको करिअरमा ठूलो मद्दत पुग्नेछ ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्म्स् एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाद्वारा निर्मित फिल्म निर्माता रायले लेखेका हुन् । शारदा खड्का अर्याल सह–निर्मात्री रहेको फिल्ममा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारले पनि अभिनय छ । रामेश्वर कार्कीले खिचेको फिल्ममा सुशिल पोखरेलको पटकथा र संवाद छ ।
गएको असोजमा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ पछि कुनै फिल्मले बक्सअफिसमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । यो अवस्थामा फिल्म ‘दि कर्मा’ ले आशाको किरण छर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *