राष्ट्रिसभाको माघ ९ र सभामुखकोलागि १२ गते निर्वाचन


काठमाडौं, ७ माघ । रिक्त रहेको राष्ट्रिय सभा सदस्यका निर्वाचन माघ ९ हुने भएको छ भने प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । माघ ६ गतेपछि अर्को बैठक माघ १२ गते बोलाउने र त्यही दिन सभामुखको निर्वाचन गर्ने तयारी गरिएको छ ।
यस्तै, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने सचिवालय बैठकबाट निर्णय गरेपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाल गौतमलाई उठाउने गृहकार्य सुरू गरेको छ ।
यसैगरी, माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताले मतदान केन्द्रमा आउँदा मतदाता परिचयपत्र वा फोटोसहितको अन्य परिचयपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सोमबार विज्ञप्तिमार्फत मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्तो मतदाताको प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाण हेरी निजको नाम मतदाता नामावलीमा छ÷छैन र मतदाता नामावलीमा भएको विवरणसँग भिडाइ यकिन गर्नुपर्ने भएकाले मतदाता परिचयपत्र वा फोटोसहितको अन्य कुनै परिचयपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *