उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले मुलुकमा पितृसतात्मक सोचले जरा गाडेको भन्दै राजीनामा दिईन


काठमाडौं, ७ माघ । मुलुकमा पितृसतात्मक सोचले संस्थागत रुपमा जरा गाडेर बसेको उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले बताएकी छिन् । सोमबार राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले एक विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेकी हुन् ।
तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’
संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाजी मारेको दाबी गरेकी छिन् ।
राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि उनले स्पष्ट पारिन् । उनले मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान भएको बताइन् ।
आफुले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन । उनले भनिन्, ‘मैले जे बोले त्यो पु¥याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ ।’
यसैगरी, उपसभामुख डा तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएको प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै घोषणा गरेकी छिन् । उनले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट पारेकी छिन् ।
एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *