हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी

काठमाडौँ, ५ माघ । हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञा आदेश जारी गरेको छ । बाह्रबिसे बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयले हुलदङ्गा र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गरेकी हुन् । आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । अर्को व्यवस्था नभएसम्मका लागि आदेश कायमै रहने निर्देशनमा उल्लेख छ । आदेश अनुसार बाह्रबिसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रबिसेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी चेम्जोङले शान्ति सुरक्षामा चुनौती सिर्जना भएपछि निषेधाज्ञा जारी भएको बताइन् । उनले भनिन, ‘सुरक्षा थ्रेट बढेपछि निषेधाज्ञा जारी गरिएको हो । वार्ताका लागि अहिले छलफल भइरहेको छ । सहमति भएमा निषेधाज्ञा हटाइनेछ ।’बाह्रबिसे नगरपालिकाले शुक्रबार अतिक्रमित क्षेत्रबाट टहरा भत्काएको थियो । त्यसको विरोधमा शनिबारदेखि प्रदर्शन भइरहेको छ । शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले यस्तो आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी माधव प्रसाद काफ्लेले बताए । आइतबार विहान ८ बजे देखि बेलुका ५ बजे सम्म अर्को व्यवस्था नभएसम्मका लागि उल्लेखित चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको आदेशअनुसार पूर्वमा बाह्रविसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमा भोटेकोशी खोला (पुल राम्चे), उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४, दक्षिणमा बाह्रविसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोशी चोक उल्लेख गरिएको डीएसी काफ्लेले जाकारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *