भू–माफियाको घरमा बम विस्फोट


काठमाण्डौ, २ माघ । प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा हडप्ने भू–माफिया शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको छ । विस्फोट आसपास फेला परेको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कारवाही गर्ने उल्लेख गरिएको छ । पर्चामा ’शोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको’ उल्लेख छ । काठमाण्डौको सानो भ¥याङमा शोभाकान्त ढकालको घरलाई लक्षित गरी बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बुधबार साँझ ७ बजेर ५५ मिनेट जाँदा भएको हो । बेलुका भएको विष्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । विष्फोटबाट ढकालको घरसहित अन्य तीन वटा घरको झ्यालका सिसा फुटेको छ । विष्फोटबाट ढकालको घरको गेट र पार्किङ गरी राखेको गाडीमा क्षति पुगेको छ । विस्फोटबाट ढकालको साढे दुई तले घरको शिशा फुटेको छ भने बा ५ च ९५५९ नम्बरको टोयोटा गाडीमा क्षति पुगेको छ । घरको गेट पूर्णरूपमा ध्वस्त भएको छ । छिमेकीका तीन वटा घरका झ्याल, ढोकाका शिशा पनि फुटेका छन् । कुकरभित्र फलामको किला राखेर बम बनाइएकाले बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा शोभाकान्त ढकालको र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएपछि ढकाल उक्त प्रकरणमा मुछिएका थिए । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।समितिले यो जग्गा हडप्ने प्रकरणमा ढकाल र सुवेदी सुरूदेखि नै संलग्न भएकाले उनीहरूलाई भू–माफिया भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *