पेस्तोल बोक्ने र ठगी गर्ने पक्राउ

 

धनुषा,२ माघ । धनुषा र काठमाडौंबाट पेस्तोल बोक्ने र ठगी गरको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ५ बरनझुल्लाबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो छन् । इलाका प्रहरी कार्यालय खजुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । हतियारसँगै एक थान म्यागजिन पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । हतियार पड्काउँदै हिँडेको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले महतोको घरभन्दा करिब पाँच सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाइछिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको थियो । पक्राउ परेकालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यसैगरी, बिना इजाजत बैंकिङ कारोबार गरी ४५ लाख बराबरको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ६ का वीरेन्द्र विश्वकर्मालाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार विश्वकर्माले लक्ष्मी ज्वेलर्सको नाममा पासबुक बनाएर विभिन्न दस जनालाई ठगेको जाहेरी प्रहरीमा परेको थियो । ठगी मुद्दामा जाहेरी परेपछि विश्वकर्मालाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको थियो । पक्राउ पूर्जी लिएपछि विश्वकर्मालाई खोजी गर्ने क्रममा बालाजुबाट पक्राउ गरिएको भण्डारीले बताए । पक्राउ परेका विश्वकर्मामाथि ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *