पूर्वसांसद र कार्यालय प्रमुखसहित ३ जनाविरुद्ध मुद्दा


काठमाडौं, २ माघ । पूर्वसांसद विश्वनाथ यादव र पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धि मुद्दा दर्ता गरेको छ । बुधबार अख्तियारले पूर्वसांसद यादव कार्यालय प्रमुख गोइत र तत्कालीन राजपा केन्द्रीय सदस्य हरि मण्डलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूलाई जनही २५ लाख रूपैयाँ बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न कीर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूलाई छ ।
सप्तरी जिल्ला राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको फोटोकपीमा अनाधिकृत रूपमा विवरण सच्याएको अनुसन्धानमा खुलेको छ ।
यस्तै, अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाममा सिफारिस गरिएकोमा उनीहरूले कीर्ते गरी सच्याएको अनुसन्धानमा खुलेको छ ।
ती कागजातको आधारमा योजना सम्झौता गर्दा समेत अवास्तविक उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरूको उपस्थितिबिना नै उक्त समितिको नाममा योजना सम्झौता विवरणसमेत नराखेको अख्तियारले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *