पार्टीभित्र विवाद मत्थर हुँदै गएको देउवाको दाबी

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भित्र रहेको विवाद मत्थर हुँदै गएको सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । बुधबार मोरङमा पत्रकारहरूसँग देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको हुनाले विवाद मत्थर हुँदै गरेको बताएका छन् । सभापति देउवाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने बताए । महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेपछि आफूहरूको परामर्शबिना नै सभापति अघि बढेको भन्दै पौडेल समुह र सिटौला समुह रूष्ट भएका छन् ।
यसैगरी, सभामुख चयन प्रक्रिया छिटो सुरू गर्नु पर्ने बताएका छन् । हिउँदे अधिवेशन आह्वान भएको महिनादिनसम्म पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार दिन नसकेको आरोप लगाएका छन् । सभापति देउवाले अब धेरै कुर्न नसकिने बताए । नेकपाले संसद बन्धक बनाउन नमिल्ने उनले बताए । नेकपा मिल्दै नमिल्ने हो भने हामी संसद चलाइदिने चेतावनी दिएका छन् । नेकपाभित्र आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको छ । पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ । अर्को बैठक माघ ६ गते दिउँसो १ बजे संसद बैठक डाकिएको छ ।
यसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अस्थिर प्रवृत्तिले सभामुख चयन प्रक्रिया ढिलाइ भइरहेको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार स्थिर भए पनि नेकपाको अस्थिर प्रवृत्तिले सभामुखसमेत चयन हुन नसकेर संसद बन्धक भइरहेको महतले दाबी गरेका छन् । यो सरकार स्थिर छ तर उसको प्रवृत्ति भने अस्थिर रहेको बताए । गोकर्णमा बुधबार तारेभीर महोत्सव उद्घाटन गर्दै महतले नेकपाकै अस्थिर प्रवृत्तिका कारण सभामुख चयन ढिलो भइरहेको बताएका छन् । उनले बहुमत ल्याएको नेकपाले एक महिनासम्म पनि सभामुख उम्मेदवार चयन गर्न नसक्नु लज्जास्पद भएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *