एसएसपीसहित ६ सुरक्षाकर्मीलाई जिउँदै आगो लगाएर हत्या गर्ने रेशम चौधरी छिट्टै छुट्ने प्रचण्डको दाबी


काठमाडौं, २ माघ । कैलाली टिकापुर घटनाका प्रमुख नायके रेशम चौधरी छिट्टै छुट्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले बताएका छन् । बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरी चाँडै छुट्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । म माथि गलत तथ्यांक बारम्बार दोहो¥याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य नभएको प्रचण्डले बताएका छन् । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।
राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ । यो सत्य होइन । त्यस्तै उनले रेशम चौधरीलाई सबभन्दा पहिला आफूले प्रधानमन्त्री हुँदा दिल्लीमा भेटेको जानकारी गराएका छन् । अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरेका छन् । प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताएका छन् ।
उनले सवै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै आवेगमा होइन, उत्तेजनामा होइन सवै जनसमुदायको मुक्तिको आन्दोलन अझै जारी रहेको जनाए ।
समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताएका छन् ।
स्मरण रहोस्, कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीलाई जिउँदै आगो लगाएर हत्या गरिएको थियो । यस घटनाका प्रमुख अभियुक्त चौधरी रहेको ठहर गर्दै अदालतले उनलाई जेल पठाएको हो ।
सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो । तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक हुन पुगेको थियो । छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर ८÷१० हजारको संख्यामा आन्दोलनकारी सडकमा आएका थिए ।
आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भएको थियो । प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको पनि घटनामा मृत्यु भएको थियो ।
यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको मृत्यु भएको थियो । आन्दोलनकारीले हवल्दार थारुलाई आगो लगाएर जलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *