‘सेल्फी किङ’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदै

काठमाडौं २४ पुस । फिल्म ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । विशाल सापकोटाले निर्देशित फिल्म ‘सेल्फी किङ’ माघ २४ गतेदेखि प्रदर्शन हुने भएको हो । फिल्ममा विपिनले ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिका निभाएका छन् । एक हास्यकलाकारको तीन दिनको कथा फिल्ममा उतारिएको छ । ‘प्रसाद’ का निर्माता सुवास थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको यो फिल्म मंगलवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । पत्रकार र फिल्मकर्मीले पनि ट्रेलरलाई सराकात्मक प्रतिक्रिया दिएका छन् । यसअघि पोस्टर र टीजरमा देखिएको विपिनको भिन्न लुक्सले फिल्मप्रति दर्शकमा कौतुहलता जागृत गरेको थियो । ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शकमा अझै उत्सुकता बढेको छ ।
हरेक फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने विपिन फिल्ममा निकै गहन विषय पनि उठाइएका हुन्छन् । पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ मा देखिएका उनले यस वर्ष फिल्म ‘प्रसाद’ बाट उत्कृष्ट अभिनेताको अवार्ड चुमिरहेका छन् । यस वर्षका लागि उनको दोस्रो फिल्म हो ‘सेल्फी किङ’ ।
‘सेल्फी किङ’ मा उठाइएको कथा आफ्नो जीवनसँग पनि धेरथोर मेल खाने अभिनेता विपिनले बताए । उनले फिल्मले उठाएको कथा हरेक सेलिब्रेटीको जीवनसँग मेल खान्छ जस्तो लाग्छ । सबै कुरा त मेल नखाला तर केही कुरा चाहिँ मिल्दोजुल्दो भएको बताए । म पनि सेलिब्रेटी भएको नाताले मलाई पनि धेरैले चिन्ने भएका कारण फिल्मको कथासँग केही कुरा रिलेट गरको उनको भनाइ थियो ।
‘सेल्फी किङ’ को टीजर र ट्रेलरमा अभिनेता विपिन कार्कीले बोलेको एउटा गम्भीर र चोटिलो संवादले स्टारडम भएका नेपाली कलाकारहरुलाई एकपटक सोच्न बाध्य तुल्याउँछ । ट्रेलरमा उनले भनेका छन्, ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फ्रेम भन्ने कुरा छ नी मुतको न्यानो जस्तो मात्र हो । एकछिन तातो हुन्छ मज्जा आउँछ । एकछिन पछि घिन लाग्न थाल्छ । गन्हाउँछ ।’ यो संवादलाई अधिकांश फिल्मकर्मीले तीतो यथार्थ भनेका छन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्ममा मैले निर्वाहा गरेको चरित्रले एउटा समयमा स्टारडम भनेको क्षणिक मात्र हुन्छ भन्ने सम्झन्छ । वास्तविक जीवनमा त्यस्तो हुन्छ वा हुँदैन थाहा नभएको बताए ।
‘सेल्फी किङ’ को पोस्टर सार्वजनिक भएपछि हलिउड फिल्म ‘जोकर’ बाट प्रभावित भएर निर्माण भएको भन्दै फिल्मको आलोचना भएको थियो । किनकि, पोस्टरमा देखिएको अभिनेता विपिनको लुक्स ‘जोकर’ का प्रमुख अभिनेतासँग धेरै हदसम्म मिल्दोजुल्दो थियो । तर, निर्देशक विशाल सापकोटाले कुनै पनि फिल्मबाट प्रभावित भएर ‘सेल्फी किङ’ निर्माण नभएको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *